विद्यार्थी संगठनले भने : पाठ्यपुस्तक परिवर्तनमा आर्थिक चलखेलको आशङ्का
नवलपरासी,पश्चिम्। शैक्षिक सत्र फेरिएसँगै नवलपरासीका संस्थागत विद्यालयहरूले पाठ्यपुस्तक पनि परिवर्तन गरेका छन्। प्रत्येक वर्षजसो पाठ्यक्रम परिवर्तन नभई नयाँ पब्लिकेसन्सका पुस्तकहरू लगाउने प्रवृत्तिले यतिबेला जनस्तर र अभिभावकहरूमा आर्थिक चलखेल भएको आशंका उब्जाएको छ।
जिल्लामा रहेका दुई विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुले प्याब्सनले गरेको पाठ्यपुस्तक परिवर्तनमा आर्थिक चलखेल भएको आशंका उब्जिएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “पाठ्यक्रम परिवर्तन नभई प्रत्येक वर्ष नयाँ पब्लिकेसन्सका पुस्तकहरू लगाउने, भर्ना शुल्क वृद्धि गर्ने लगायतका कार्यले विद्यार्थी एवं अभिभावकहरू मर्कामा परेको व्यापक जनगुनासो प्राप्त भएको छ। पाठ्यपुस्तक परिवर्तनमा कमिसन बापत पब्लिकेसनसँग मोटो रकम लिएको हल्ला चलेको छ।”
सम्बन्धित निकायले यो विषयलाई गम्भीरतापूर्वक नलिए कडा आन्दोलनमा उत्रने चेतावनी नेविसंघ जिल्ला सभापति कमल बस्याल र अनेरास्ववियुका अध्यक्ष सन्जय मौर्यद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा दिइएको छ।
यता प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङले भने बजारमा आएजस्तो हल्ला निराधार भएको बताएका छन्। बरु प्याब्सनको भवन निर्माणका लागि पब्लिकेसन्सहरूसँग सहयोग मागिएको उनको भनाई छ। अध्यक्ष गुरुङले भने, “संस्था हो, सहयोग माग्नु ठूलो विषय हैन तर एक रुपैयाँ कसैबाट लिएको छैनौं, यो सबै हल्ला मात्रै हो।”
नयाँ पब्लिकेसनका पुस्तकहरू ल्याएबापत बिक्रेताहरूलाई पब्लिकेसनहरूले राम्रै कमिसन दिने गरेका छन्। यो व्यवसायीहरूका लागि स्वभाविक भए पनि हरेक वर्षको पुस्तक परिवर्तनले अभिभावक र विद्यार्थीहरू मर्कामा पर्दै आएका छन् भने यतिबेला यसको चौतर्फी विरोध भएको छ। यद्यपि आशंका गर्ने आधारहरू भने पर्याप्त देखिएको सरोकारवालाहरू नै बताउँछन्।
चल्खेलमा जोडिएको भनिएका एक पब्लिकेसनका सञ्चालकले आफ्ना पुस्तकहरू स्वतन्त्र रुपमा बजारमा किन्न पाइने बताएका छन्। उनका अनुसार कुन पब्लिकेसनको किन्ने वा नकिन्ने भन्ने अधिकार अभिभावकहरूकै हातमा रहेको छ।









प्रतिक्रिया राख्नुहोस्