५ हजार टन युरिया मल वीरगंज आइपुग्यो

वीरगंज । चैते धानको लागि आवश्यक पर्ने ५ हजार टन युरिया मल वीरगंज आइपुगेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत आयात गरेको ३० हजार टन युरिया मल मध्ये ५ हजार टन युरिया मल वीरगंज आइपुगेको हो ।
साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय वीरगंजका प्रमुख अमोज लामिछानेले सन इन्टरनेसनल कम्पनी आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्ट अन्तर्गत कोलकाता बन्दरगाहबाट २ रेल्वे र्याक मल वीरगंज स्थित श्रीर्सीया सुख्खाबन्दरगाहमा रेल मार्फत आइपुगेको बताउनुभयो ।
आपूर्तिकर्ता सन इन्टरनेसनलले चीनबाट उक्त मल ल्याएको हो । कुल ३० हजार टनमध्ये वीरगंज प्रादेशिक कार्यालयले १० हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले ९ हजार ५ सय र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय टन मल पाउनेछन् ।
वीरगंजको मल रक्सौल तथा सिर्सिया सुक्खा बन्दरगाहमा आउनेछ भने भैरहवा र विराटनगरको केही मल सोझै कोलकाता बन्दरगाहबाट ती कार्यालय नजिकका भारतीय नाका हुँदै पुग्नेछन् ।
हाल भित्रिएको युरिया मल चैते धान बालीका लागि उपयोगी हुने लामिछानेले बताउनुभयो । चैते धानका लागि हाल युरिया मलको माग रहेकाले माग भएका जिल्लामा प्राप्त कोटाको आधारमा पठाइने लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्