तपाईँ सुन्दै हुनुहुन्छः

जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत आग्रह

रुपन्देही । २१० वर्षअघि वैशाख ७ गते नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइएको छ। 

नेपाल–अङ्ग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ । हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौज पछि फर्किएको थियो । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि.सं.१८७२ साल वैशाख ७ गते अङ्ग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो । हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौज पछि फर्किएको थियो । सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ । 

जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि.सं.१८७२ साल वैशाख ७ गते अङ्ग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको र सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको नगरप्रमुख खेलराज पाण्डेले बताउनुभयो।  

उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारहरूले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका छन् । गौरवमय इतिहास बोकेको जितगढी किल्लामा नेपाली सेनाले जितेको स्मरण गर्दै उत्सव मनाउने परम्परा कायम गरिएको हो । तीन वर्षयता नेपाली सेनाले गोरखाबाट यहाँ आउने पुरानो बाटोबाट पैदलयात्रा थालेको छ । यो वर्ष ११ दिनमा सेनाको पैदलयात्री टोली यहाँ आइपुगेको छ ।

वि.सं.१८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अङ्ग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थिए । त्यही फौजले वि.सं. १८७१ सालदेखि सुरु भएको पटक–पटकको आक्रमण सामना गर्दै अन्ततः वि.सं. १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो । अङ्ग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको इतिहासका जानकार देवेन्द्रराज शाक्यले बताउनुभयो । 

तत्कालीन समयमा नुवाकोट गढी, सिमरनगढीलगायत नेपालका सात स्थानमा अङ्ग्रेज विरुद्ध युद्ध भएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल लिने बताउनुभयो । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचिकृत गर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताउनुभयो ।

जितगढी उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गरिने जानकारी दिनुभयो । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो । “नयाँ पुस्तालाई वीरताको गाथा सुनाउनु जरुरी छ । इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ ।”, मुख्यमन्त्री आचार्यले भन्नुभयो । 

मुख्यमन्त्री आचार्यले अङ्ग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताउनुभयो । आत्मविश्वासकै कारण नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– “उति बेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ छौँ ।”

उहाँले बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताउनुभयो । स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने उहाँले स्पष्ट पार्नुभयो । 

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले जितगढीको इतिहासलाई महत्व दिएर आफू यहाँ आएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button