राप्ती राजमार्ग: दैनिक पाँच घण्टा बन्द
सल्यान । स्तरोन्नति गर्न भन्दै राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ– सल्यान सडकखण्डको कपुरकोट देखि राम्रीसम्म स्तरवृद्धि गर्न भन्दै वैशाख ८ गतेदेखि १४ गतेसम्म एक हप्ता राजमार्ग बन्द हुने भएको हो ।

नियमित गाडी सञ्चालनमा आउँदा स्तरोन्नतिको काम प्रभावित भएको भन्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ५ घण्टा सडक बन्द गरेर काम अघि बढाउने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
साना तथा अत्यावश्यक सवारी साधनका लागि पैयाखोरिया सातावास किमुचौर कपुरकोट सडक प्रयोग गर्न सकिने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ठूला सवारी साधन भने दैनिक जाममा पर्ने छन् ।
कपुरकोट – दाङ सडकखण्डको स्तरवृद्धिका लागि पटक पटक यातायातका साधन बन्द गरेर काम गरेता पनि उक्त सडकले पूर्णता पाउन सकेको छैन । जसका कारण, सल्यान, दाङ, रोल्पा, रुकुमका नागरिकले वर्षेनी सास्ती खेप्दै आइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्