गौतमबुद्ध विमानस्थल सञ्चालनमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
रूपन्देही।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि प्रदेश सरकार अबिचलितरूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
लुम्बिनी खबर सञ्चार गृह प्रालिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल नियमित सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो। प्रदेश सरकार आफ्नो तर्फबाट आवश्यक जिम्मेवारी पूरा गर्न तत्पर रहेको बताउँदै उहाँले प्रधानमन्त्री, अर्थमन्त्री र सम्बन्धित मन्त्रालयहरूसँग भेटघाट तथा लबिङ भइरहेको उल्लेख गर्नुभयो।
मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय उडानका कारण प्रदेशको पर्यटन र आर्थिक क्षेत्रले गति लिएको उल्लेख गर्दै नियमित उडान सुनिश्चित गर्न सरकार निरन्तर सक्रिय रहेको बताउनुभयो। निजी क्षेत्रबाट भइरहेका प्रयासप्रति पनि सरकारको चासो रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा सञ्चार क्षेत्रका भूमिकाबारे समेत बोल्दै उहाँले समाज सुधारमा मिडियाको जिम्मेवार सहभागिता आवश्यक रहेको बताउनुभयो। हाल सञ्चारको नाममा विकृति र भ्रमपूर्ण सूचनाको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्ता प्रवृत्तिमा नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा लुम्बिनी सञ्चार गृह प्रालिका अध्यक्ष श्री बहादुर रायमाझी, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, समता टिभिका कार्यकारी निर्देशक नरेश केसी, सञ्चारगृहका निवर्तमान अध्यक्ष गोकुल पोख्रेललगायतले मन्तव्य राख्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्