तपाईँ सुन्दै हुनुहुन्छः

गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती‍‍‍‍‍…

काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सुरु गरेको राजधानी केन्द्रित आन्दोलन आज १७ दिन पूरा भएको छ ।

सधैँ व्यस्त रहने माइतीघर–बानेश्वर सडक क्षेत्रमा दिनदिनै हुने आन्दोलन र विरोध प्रदर्शनले राजधानीको सवारी व्यवस्थापनमा चुनौती भने खडा गरिरहेको छ । नियमित जस्तो हुने सडक जामले गन्तव्यमा निस्केका यात्रुले सास्ती खेप्न परिरहेको छ भने सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीलाई कर्तव्य पूरा गर्न धौ धौ परेको छ ।

मूल सडकबाट यात्रा गर्न नपाएपछि यात्रु वैकल्पिक रूपमा करिडोरका सडक प्रयोग गर्न बाध्य हुनुपरेको छ । समयमै गन्तव्यमा पुग्न नपाएर कतिपय यात्रु छट्पटिरहेको देखिन्थ्यो । सडक जामले यात्रुलाई थोरै दूरी पार गर्न पनि घण्टौँ समय लाग्ने गरेको गुनासो छ । व्यस्त सडकमा हुँदै आएको प्रदर्शनीले दिनभरजसो नै उपत्यकाभित्रका वैकल्पिक मार्ग र खोला करिडरमा सवारी चाप बाक्लो हुने गरेको छ । तथापि, शिक्षक आन्दोलनको हालसम्मको प्रदर्शनी र भएका क्रियाकलापले राजनीतिक दललगायत अरूलाई प्रेरणा दिने शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ । शान्तिपूर्ण भनिए पनि काठमाडौँको मूल सडकमै आन्दोलन गरिएकाले सुरक्षा व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा प्रहरी खटाउनु परिरहेको छ ।

आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बजाउने, नाचगान गर्ने, जादु देखाउने, चड्किला भन्नेजस्ता गर्दै आएका छन् । आन्दोलनलाई थप ऊर्जा प्रदान गर्न शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, खैँजडी, मादलसहित आन्दोलनमा सहभागी भएका छन् ।

स्थानीय कला संस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाएका छन् । चर्को घामका बीचमा पनि आन्दोलनकारी शिक्षक सडकमा छमछमी नाच्ने, एक्लै वा ग्रुपमा सेल्फी खिच्ने कार्यमा व्यस्त देखिन्छन् । आन्दोलनमा जिल्ला र पालिका स्तरबाट समेत शिक्षकको सहभागिता भएको देखिन्छ । महासङ्घले आन्दोलनलाई उचाइमा पुर्‍याउन साथ, सहयोग र समर्थनका लागि सबैसँग आह्वान गरिरहेको छ ।

पछिल्लो समय प्रत्येक दिन बिहान १२ः०० बजे माइतीघर–बबरमहल भेला भई ब्यानरसहित जुलुस प्रदर्शन गर्ने, सडकमै भाषण ठोक्ने र गीत सङ्गीतसहित नाचगान गर्नु आन्दोलनरत शिक्षकको दैनिकी नै बनेको छ । आन्दोलनलाई थप उचाइमा पुर्‍याउन सहभागीको सङ्ख्या वृद्धिका लागि दबाब सृजना गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरीको व्यवस्था मिलाइएको छ ।

आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ । सुरुआती दिनका तुलनामा पछिल्ला दिनमा सहभागीको सङ्ख्या बढेको शिक्षक आन्दोलनका अगुवा बताउँछन् । शिक्षकको आन्दोलनलाई बल प्रदान गर्न कतिपय सङ्घसंस्थाले निःशुल्क खानेपानीको व्यवस्था गरेका छन् । आन्दोलनमा देखिने नाचगान, गीतसङ्गीत र विभिन्न कला प्रदर्शनीले माइतीघर–बानेश्वर खण्डमा आन्दोलनकारीलाई थप रौनकता प्रदान गरेको छ । आन्दोलन क्षेत्रमा फलफूल, पानी र अन्य हल्का पेय पदार्थको सडक व्यापार भने मौलाएको छ ।

यसैबीच, सरकारले पनि आन्दोलनरत शिक्षकहरूलाई आ-आफ्नो कार्य थलोमा फर्किन पटक पटक अनुरोध गरिरहेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तर पुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोध प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्य थलोमा फर्कन आग्रह गरेको हो ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान समेत गरिरहेको छ ।

सरकारले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरू सम्बोधन गर्न सरकार संवेदनशील रहेको र त्यस निम्ति निरन्तर संवादमा रहेको जानकारी दिएको छ ।

आन्दोलनको आज सत्रौँ दिन पनि सहभागीलाई ढाडस दिँदै शिक्षक प्रतिनिधिले भनिरहेका थिए, “दिनदिँदै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र ! भन्ने लाग्न सक्छ,  नआत्तिनुस् उपलब्धि हुने क्रममा छ । हामीले यहाँ आए र कराएको सरकारले नसुने पनि हेरेको छ ।”

सरकार र शिक्षक सङ्गठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा आन्दोलनकारी शिक्षक र कर्मचारी दृढ छन् । विद्यालय तहमा लिइएको नतिजा प्रकाशित गर्ने, विद्यार्थी भर्ना अभियानलाई घनिभूत रूपमा लैजानुपर्ने बेलामा देशका भएभरका शिक्षक तथा कर्मचारी काठमाडौँ केन्द्रित आन्दोलन होमिन परेको विषयले अभिभावक र विद्यार्थीलाई भने यसपटक चिन्ता बढाएको छ ।

उसै त निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न चुनौती खेपिरहेका सरकारी विद्यालय आन्दोलनकै कारण विद्यार्थी भर्ना गर्न नसके थप अप्ठ्यारोमा पर्न सक्ने अभिभावकको गुनासो छ । नतिजा प्रकाशन गरेर भर्ना अभियानमा लाग्नुपर्नेमा सरकारले विगतमा गरेको सम्झौताअनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपर्ने अवस्था निम्तिनुलाई सरकार नै दोषी रहेको आन्दोलनमा सहभागी शिक्षकको आरोप छ ।

आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तो हात घर फर्कनु परिरहेको अवस्था अन्त्यका लागि हो, त्यसका लागि छिटो शिक्षा ऐन आउनुपर्छ आन्दोलनरत शिक्षक बताउँछन् ।

सरकारसँग २०८० साल असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाउँदै अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोलनमा आउन परेको प्रतिक्रिया दिनुभयो । 

आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साविक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button