लुम्बिनी कप महिला फुटबलमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात
नेपालगन्ज । त्रिभुवन आर्मी क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिम एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको हो । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा सुदूरपश्चिममाथि दबाब बढाउँदै गोल अन्तर फराकिलो बनाएको थियो ।

प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको आज अपराह्न नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्