तपाईँ सुन्दै हुनुहुन्छः

‘खेलकुद मनोरञ्जन मात्र नभई आर्थिक आर्जनको बलियो माध्यम बन्दै’

नेपालगन्ज । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद मनोरञ्जन मात्र नभई आर्थिक आर्जनको बलियो माध्यम पनि बन्दै गएको बताउनुभएको छ । 

नेपालगन्ज रङ्गशालामा आज लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले पछिल्लो समय प्रतिभावान् खेलाडीहरूको खोजी र माग बढेको भन्दै त्यसले खेलाडीहरूको आर्थिक उपार्जनमा टेवा पुगेको बताउनुभयो । उहाँले पश्चिम नेपाल खेलकुदको राम्रो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो । 

लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको निरन्तरताका लागि आग्रह गर्दै उहाँले आगामी वर्ष यस प्रतियोगिताका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । स्थानीय स्तरमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सघाउ पुग्ने मन्त्री चौधरीको भनाई छ । प्रतियोगिताबारे आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी गराउनुभएको थियो । 

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्नेछन् । 

बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button