तपाईँ सुन्दै हुनुहुन्छः

‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को दुई विधामा मनोनयन

काठमाडौँ। ‘इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा)’ ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को सातौँ संस्करणको दुई विधामा मनोनयन गरिएको छ । यी दुवै मनोनयनमा गीतकार लोकराज अधिकारी पर्नुभएको छ ।

मनोनयनमा नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा पर्नुभएको हो । यो मनोनयन आफ्नो मात्र नभई नेपालकै प्रतिनिधित्व भएको गीतकार अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म नेपालबाट एक्लो मनोनयनमा परेको छु, त्यसकारण मैले देशकै प्रतिनिधित्व गरेको महसुस भएको छ । उक्त अवार्डको सार्वजनिक मनोनयनमा अन्य देशसँगै नेपालको झन्डा देख्दा आफूले केही गरेको जस्तो महसुस भएको छ ।”

अधिकारी लगातार दोस्रो वर्ष नेपालबाट मनोनयनमा पर्नुभएको हो । उहाँले उक्त अवार्डमा अमेरिकाको २१ विधा र अन्तरराष्ट्रिय २१ विधाअन्तर्गत प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । गीतकार विधामा उहाँसँगै ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेका छन् । गीतकार अधिकारीले गत चैत २० देखि नै ‘इलेकट्रोनिक भोटिङ’ खुला भएको र वैशाख २० गतेसम्म भोट गर्न पाइने बताउनुभयो ।

“प्राप्त मतका आधारमा आगामी वैशाख १९ गते उत्कृष्ट २० घोषणा हुनेछन् । म एउटा गीतमार्फत त्यहाँ प्रतिस्पर्धामा रहे पनि नेपालकै प्रतिनिधित्व गरिरहेको छु, त्यसैले सबैलाई भोट गर्न आग्रह गर्दछु । यस मनोनयनलाई मैले अन्तरराष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा लिएको छु”, उहाँले भन्नुभयो ।

गीतकार अधिकारीले एउटा ‘डिभाइस’ बाट दैनिक एकपटक भोट गर्न सकिने जानकारी दिनुभयो । उहाँ मनोनयनमा पर्नुभएको गीत ‘जिन्दगानी के छ र’ मा सिडी अधिकारीले सङ्गीत र स्वर दिनुभएको छभने यसको ‘म्युजिक भिडिओ’ लाई बबिता श्रेष्ठले निर्देशन गर्नुभएको छ ।

आगामी भदौ ८ गते अमेरिकास्थित एटलान्टामा सम्पन्न हुने उक्त अवार्डमा ‘इसा’ का सदस्य गीतकार मात्र प्रतिस्पर्धामा भाग लिन पाउँछन् । गीतकार अधिकारी उक्त संस्थामा तीन वर्षअगाडि सन् २०२२ मा सदस्य बन्नुभएको थियो । गीतकार अधिकारीले रचना गर्नुभएका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ लगायतका गीत लोकप्रिय छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button