लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको तयारी पूरा
नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंङरोगन, खेलाडी आवास, यातायातको व्यवस्था लगायतका काम पूरा भइसकेको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार टिकट बिक्री, पार्किङ व्यवस्थापन, खेलाडीका लागि आवास व्यवस्थापन र खेलाडी बसोबास भएको स्थानदेखि रङ्गशालासम्म यातायातको व्यवस्थापन समेत भइसकेको छ ।
प्रतियोगिताका लागि खेलाडीहरूको टिम आउने क्रम पनि सुरु भएको मिडिया संयोजक निरज गौतमले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टिम नेपालगञ्ज आइसकेको छ । नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता रहने प्रतियोगितामा अन्य टिमहरू पनि खेल तालिका अनुसार आउनेछन् । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट व्यवस्था गरिएको छ । साथै विद्यार्थीहरूको लागि सहुलियतको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्यारापिट अनुसार टिकटको व्यवस्था गरिएको छ । लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशि अहिलेसम्मकै ठूलो रहेको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्