मातृ शिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरिँदै
बाँके । लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा मोबाइल मार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न सुरु गरेको छ ।
महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । बाँकेमा आज बुधबार देखि पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्न स्वास्थ्यकर्मीहरू घरघरमा खटिएका छन् । पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्न आजदेखि बाँकेका ८ वटा पालिकाका ८१ वटै वडामा १६२ जना स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले ४० दिन लगाएर जिल्लाका १ लाख २९ हजार ३ सय ७ घरधुरीमा पुगेर विवरण सङ्कलन गर्नेछन् । यो २०७८ सालको जनगणना अनुसारको घर सङ्ख्याको तथ्याङ्क हो ।
महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम सञ्चालन मार्गनिर्देशनअनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियानअन्तर्गत विवरण तयार गर्न लागिएको हो ।
बाँकेमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन यो अभियानले सघाउ पुग्न भएकाले गर्भवतीले नियमित जाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने गरेकाले पनि मातृ मृत्युदर तथा बाल मृत्युदर न्यूनीकरण चुनौतीपूर्ण बनेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले बताउनु भयो ।
महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको स्वास्थ्यकर्मीहरूको भनाई छ । बाँकेमा १४ प्रतिशत गर्भवतीले गर्भ जाँच नगराउने र २७ प्रतिशत महिलाले सुत्केरी पश्चात् गराउनुपर्ने जाँच समेत नगराउने गरेको पाइएको छ ।

यो अभियानअन्तर्गत गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरिनेछ । नियमित सेवामा ल्याउनका लागि हरेक घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरूले पारिवारिक स्वास्थ्य विवरण तयार पार्न यो ‘पाइलटिङ’ कार्यक्रमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिँदै स्वास्थ्य कार्यालय बाँकेले कार्यालयको समयमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन नगर्न निर्देशन दिएको छ । कार्यालय समय पश्चात् गरिने विवरण सङ्कलन प्रभावकारी नहुने भएकोले कर्मचारीलाई कार्यालय समयमा विवरण सङ्कलनको व्यवस्था मिलाउन स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्