प्रदर्शन रोकी काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान

काठमाडौँ । सरकारले प्रदर्शनरत शिक्षकहरूका मागलाई उचित रुपमा सम्बोधन गर्ने भन्दै प्रदर्शन रोकी आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विभिन्न माग राखी भइरहेको शिक्षक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको र शिक्षकहरूले उठाएका मागहरूको सरकारले यथोचित सम्बोधन गर्ने बताउनुभयो ।
सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनका लागी संसद् अधिवेशन आह्वान गरेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री गुरुङले हाल शैक्षिक सत्रका महत्वपूर्ण कार्यहरूको संवेदनशीलतालाई मध्यनजर गरी विद्यालय फर्कन शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले आयोडिनयुक्त नुन उत्पादन तथा विक्री वितरण ऐन २०५५ साउन १ गतेदेखि प्रारम्भ गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति चौथो संशोधन आदेश २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संंघीय संसदमा पेश गर्नुका साथै सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी पहिलो संशोधन कार्यनीति २०८१ स्वीकृत गर्ने र हवाई सेवा व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय भएको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव अयोगको प्रतिवेदन कार्यान्वयनको लागि ७ दिनभित्र कार्यान्वयन कार्ययोजना बनाई पेश गर्न समिति गठन गर्ने लगायतका निर्णय गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्