पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते, २ को अवस्था गम्भीर
बागलुङ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
तमानखोलाको बोङ्गादोभान बजारदेखि कटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको जिप सोमबार दिउँसो १ बजेतिर दुर्घटना हुँदा गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीय नवीन मल्ल गम्भीर घाइते भएको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिनुभयो ।
गम्भीर घाइते मुना विक र नवीन मल्ललाई थप उपचारको लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको डिएसपी यादवले जानकारी दिनुभयो । अन्य घाइतेहरूको हात खुट्टा, ढाडमा भित्री चोट, टाउकोमा चोट लागेको छ ।
मध्यम र सामान्य घाइतेहरूको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्