तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा आज नयाँ बर्ष सतुवाइन पर्व मनाइँदै 

सुनसरी । सुनसरी सहित मिथिलाञ्चलमा  लगायतका जिल्लामा आज नयाँ बर्ष २०८२ सोमबार सतुवाइन पर्व मनाइएको  छ ।

नयाँ वर्षका दिन मिथिलाञ्चलमा  सतुवाइन पर्व मनाइने गरेको इनरुवा बबियाका जयकृष्ण यादवले बताउनुभयो । 

सतुवाइन पर्वमा आज सोमबार जौ, चना, मकै, भटमास लगायतका वस्तुलाई गृहिणीले  भुटेर त्यसलाई पुनः पिँधेर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर सखर दहिमा मिसाई कुल देवतालाई चढाई आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन रहेको यादवले जानकारी दिनुभयो  ।

दुहबीका पण्डित सतिश झाले शीतलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वास्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलाञ्चलमा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको बताउनुभयो ।

आजका दिन प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानु अघि सबैभन्दा पहिले सातु खाने गर्दछन् ।  सातुलाई चिनी, सख्खर खाने चलन रहेको छ । 

केही समुदायले पहिलो दिन सतुवाईन, केही समुदायले दोस्रो दिन जुरसितल गरी सिरुवा पर्व धुमधामका साथ मनाउने गर्दछन् । वर्षभरी शीतलता प्राप्त होस भन्दै पानी शिरमा हालेर सिरुवा खेल्ने गरेको जानकारहरू बताउँछन् । 

सिरुवाको धार्मिक तथा सांस्कृतिक पक्ष लोपोन्मुख अवस्थामा सुनसरीमा सलहेस, डिहबार थान, राजाजी थान सहित थारु समुदायको ग्रामथान, मुसहरहरूको दिनाभद्री थान, खत्वेहरुको सेशराज महराज थान सहितको धार्मिक तथा सांस्कृतिक अतिक्रमणका कारण सिरुवामा रौनक घट्दो क्रममा रहेको छ । 

जिल्लामा कतिपय सिरुवासँग जोडिएका सांस्कृतिक पक्ष लोप भएर गएका छन् । दिन दिनै बढ्दो मानवीय अतिक्रमणले बाँकी रहेका सांस्कृतिक पक्ष पनि लोप भएर जाने अवस्थामा पुगेका वृद्धाहरूले गुनासो गरेका छन् ।

ग्रामथान संरक्षण समिति सुनसरीका अनुसार सुनसरीभरी ६ सयभन्दा बढी ग्रामथान रहेका छन् । परापूर्व कालबाट पूजाआजा भएका ग्रामथानमध्ये अहिले आधाभन्दा बढी ग्रामथानको भूमि नै अस्तित्वमा नरहेको संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरी बताउनुभयो । बाँकी रहेका ग्रामथानमध्ये पनि ८० प्रतिशत ग्रामथान अति सङ्कटमा रहेको चौधरीले बताउनुभयो  । ग्रामथानसँगै पोखरी र इनार हुने गर्थे । तर अहिले इनार र पोखरी भएका ग्रामथान भने बिरलै मात्रै रहेको चौधरीले बताउनुभयो । सुनसरीमा जग्गा प्लटिङ हुन थालेपछि ग्रामथानमा मुद्दा मामिला समेत पर्ने गरेको छ ।

संस्कृति जोगाउँदै वैशाखभरी सिरुवा मेला चैत महिनाको अन्तिम साता बहर जात्रा मनाएपछि थारु समुदाय सिरुवा पर्व मनाउन सुरु गर्छन् । चैत्रको अन्तिम साता उनीहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा (बाहिर) मनाउने गरेका छन् । बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु हुने थारु संस्कृति संरक्षणमा लागेका अभियन्ता गवनसिंह चौधरीले बताउनुभयो ।

सुनसरीको रामधुनीमा रहेको पाञ्चायन थानमा र कोशी गाउँपालिका २ पश्चिम कुशाहामा सलहेस थाममा वैशाख १ गतेदेखी तीन दिने मेला लागेसँगै सिरुवा मेला लाग्न सुरु हुन्छ । थारु समुदाय भने सिरुवा पावनका रूपमा यो पर्व मनाउने गर्छन् । 

उता सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला सरु भएको छ । सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको सिमानामा सलहेस थानमा रमाइलो सांस्कृतिक कार्यक्रमसहित धूमधामका साथ सिरुवा मेला लागेको स्थानीय जुगेश्वर यादवले जानकारी दिनुभयो ।

पाञ्चायन थान नजिकै रहेको सिरा थानमा विधि पूर्वक पूजा गरेपछि सिरुवा पर्व सुरु हुने गर्छ । प्रकृति पूजक थारुहरू शिरा थानमा दही चिउरा चढाउने गर्छन् । दही चिउरा चढाउँदा गाई वस्तु र चौपाया सप्रने उनीहरू विश्वास गर्छन् ।

पाञ्चायन थानमा भने बलि दिने गरिन्छ । नयाँ वर्षको दिन यहाँको मेला भर्न सुनसरी मोरङ सप्तरी उदयपुरबाट समेत मानिसहरू आउने गर्छन् । तर सिरुवा मेलाको जगका रूपमा रहेको पाञ्चायन थानमा भने अहिले शिव मन्दिर बनेको छ । ठुलो शिव मन्दिरका पछाडि पट्टी जब्धी ( पोखरी) को छेउमा रहेको थानमा थारुहरू पूजाआजा गर्ने गर्छन् ।

त्यसैगरी इनरुवा ७ को चान्दबेलामा, बबिया, सतैरझोरा, इटहरी १६ मा जब्दी मेला , इनरुवाको भगवती मन्दिरको सिरुवा मेला सहित वैशाखभरी यहाँ ठुलो सिरुवा मेला लाग्ने गर्छ ।

आदिवासी जनजातिहरूमा नयाँ वर्षको उत्सव उता सुनसरी सहित झापा, मोरङ र उदयपुर लगायतका जिल्लामा बसोबास रहेको राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी लगायतका जातिले सिरुवा पर्व मनाउँमा व्यस्त बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button