तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्ष २०८२ को स्वागतसँगै सुदूरपश्चिममा विसु पर्वको उत्सव 

कञ्चनपुर । नयाँ वर्ष २०८२ को पहिलो दिन आज सुदूरपश्चिममा परम्परागत विसु पर्व धूमधामसँग मनाइँदै छ । 

प्रत्येक वर्ष वैशाख १ गते सुदूरपश्चिमेलीहरूले आफ्नो सांस्कृतिक र परम्परागत चाडको रूपमा विसु पर्व मनाउने गर्छन् । खास गरी डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा र दार्चुलाका साथै ती जिल्लाबाट तराई झरेका कञ्चनपुर र कैलालीका समुदायहरूले पनि नयाँ वर्षलाई विसुको रूपमा मनाउने गरेका छन् । यस पर्वमा सिस्नो लगाउने प्रचलन विशेष रहन्छ । जनविश्वास अनुसार, एक आपसमा सिस्नो लगाउँदा शरीरका सबै विष नष्ट हुने मान्यता छ । देवर–भाउजू तथा नन्द–भाउजूबिच सिस्नो लगाउने परम्परा रहेको छ, यद्यपि पछिल्लो समयमा यो चलन केही हराउँदै गएको देखिन्छ । स्वास्थ्यका दृष्टिले पनि सिस्नो लाभयुक्त वनस्पति मानिन्छ ।

डोटी, अछाम, बझाङ र बाजुराका केही भागमा भने आजको दिन पुत्ला खेल्ने र विसुलोडा चलाउने विशेष परम्परा छ । नयाँ वर्षमा रोग नलागोस् र शरीर शुद्ध रहोस् भन्ने उद्देश्यले विसुलोडा चलाउने गरिन्छ । पर्वको अवसरमा घरघरमा लिपपोत, रंगरोगन र शक्ति पीठहरूमा पूजाआजा गरिन्छ । परदेशमा रहेका धेरै सुदूर पश्चिमेलीहरू विसु पर्व मनाउन घर फर्किँदा गाउँघरमा रमाइलो र उल्लास थपिएको छ । त्यस्तै, कञ्चनपुर र कैलालीका थारु समुदाय माघ १ गते मकर सङ्क्रान्तिमा नयाँ वर्ष मनाउने भए पनि पछिल्ला वर्षहरूमा संस्कृतिको अनुसरण गर्दै उनीहरूले पनि आजको दिन मिठा परिकार खाएर, आफन्तसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने गरेका छन् ।

नयाँ वर्षको पहिलो दिन कञ्चनपुरमा विशेष चहलपहल देखिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी भएर पूर्णागिरि दर्शन सकेका भारतीय तीर्थालुहरू नेपालस्थित सिद्धनाथ वैजनाथको दर्शन गर्न महेन्द्रनगर र ब्रह्मदेव आउने क्रम जारी छ । महाकाली नदी किनारको हरिहर घाटमा स्नान र पूजाआजा गर्नेहरूको भीड लागेको छ भने अन्य धार्मिक स्थलहरूमा पनि भक्तजनको उल्लेख्य उपस्थिति देखिन्छ । विसु पर्वकै अवसरमा विभिन्न ठाउँमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ, जहाँ देउडा नृत्य विशेष आकर्षणको रूपमा प्रस्तुत भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button