तपाईँ सुन्दै हुनुहुन्छः

‘२०८४ को निर्वाचन अगाडि एक पटक संविधान संशोधन गर्न आवश्यक’ 

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचन अगाडि नै एक पटक संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र २०८४ को निर्वाचनमा जानुपर्ने बताउनुभयो । 

उहाँले अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेकोले संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभयो । 

उहाँले २०८४को निर्वाचनमा नेपाली काँग्रेसले कसैसँग गठबन्धन नगर्ने उल्लेख गर्नुहुँदै महामन्त्री थापाले अरूले गठबन्धन गर्नसक्ने भएकाले बलियो सङ्गठन बनाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले मुलुकका सामुन्ने आएका ठूल्ठूला समस्या समाधान गर्न भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उहाँले अहिले देखिएका समस्या समाधान गर्न पनि काँग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । 

उहाँले अहिले नेपाली नागरिकमा असन्तुष्टि रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने मुख्य जिम्मेवारी पनि काँग्रेसकै भएको बताउनुभयो । उहाँले आन्तरिक गुटका कारण भातृ सङ्गठनको अधिवेशन हुन नसकेको बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री खड्ग फागो, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठलगायतले पार्टीमा गुट बलियो भएको भन्दै गुटभन्दा पार्टी बलियो बनाउनु पर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button