बाँकेमा एक वर्षको अवधिमा विपदबाट करिब साढे दुई करोडको क्षति

नेपालगञ्ज । बाँकेमा एक वर्षको अवधिमा विपद्बाट करिब साढे दुई करोडको क्षति भएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अनुसार आगलागीबाट दुई करोड २७ लाख र बाढीबाट १६ हजार बराबरको क्षति भएको हो ।
२०८१ वैशाख १ गतेदेखि २०८१ चैत २७ गतेसम्म आगलागीबाट १०२ घरधुरी प्रभावित हुँदा ५ जना घाइते भएका छन् भने हावाहुरीबाट ७ घरधुरी प्रभावित भएकोमा ११ जना घाइते भएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा तथ्याङ्क प्रस्तुत गर्दै आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाढीबाट ६ घरधुरी प्रभावित भएको बताउनुभयो ।
यस्तै, चट्याङ लागेर दुई जनाको मृत्यु भएकोमा २ जना घाइते भएका थिए । जङ्गली जनावरको आक्रमणबाट ३ जनाको मृत्यु हुँदा ४ जना घाइते भएका छन् । यसैगरी यही चैत २७ गते राती आएको हावाहुरीका कारण २१ घरपरिवार प्रभावित भएका छन् भने २६ वटा विद्युत् पोलमा क्षति पुगेको छ । हावाहुरीमा परी एक जना घाइते भएका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिका अनुसार जिल्ला यसपटक तातो हावा (लु) तथा डढेलोबाट प्रभावित हुने परिवार सङ्ख्या ५ हजार हुने अनुमान गरिएको छ । त्यसमा आगलागीबाट मात्रै १ सय परिवार परिवार प्रभावित हुने अनुमान छ । यस्तै डढेलोबाट ५ हजार हेक्टर वन जङ्गल तथा ५ सय हेक्टर कृषि क्षेत्र प्रभावित हुने अनुमान गरिएको छ ।
बैठकमा गर्मी मौसम सुरु भएसँगै बढ्ने आगलागी, वन डढेलो, लु, हावाहुरीको जोखिम न्यूनीकरणका लागि पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्