महावीरका सन्देशबाट सबैलाई प्रेरणा मिल्छ: मुख्यमन्त्री सिंह

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन भगबान महावीरका सन्देशबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भगवान् महावीरको २६२४ औँ जन्म जयन्ती एवम् आचार्य श्री महाश्रवणको प्रथम अन्तर्राष्ट्रिय बीरगंज प्रवेश को १० बर्ष पूर्णताको उपलक्ष्यमा आज वीरगंजमा जैन श्बेताम्बर तेरापन्थि सभाद्वारा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने महावीरको सन्देश भएको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले अरूलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उहाँले शिक्षा दिनुभएको बताउँदै भगबान महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले यस दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । बाहाँले “यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गरेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा श्बेताम्बर तेरापन्थि सभाका अध्यक्ष अशोक वैद्यले हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिएको बताउनुभयो ।
नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको जानकारी वैद्यले दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्