चीनको सिमानासम्म सडक ट्र्याक खोल्न माग गर्दै डोल्पाका जनप्रतिनिधि काठमाडौँमा

डोल्पा । डोल्पाको सदरमुकाम दुनै देखि चीनको सिमाना जोड्ने सडकको ल्यासिक्याप-सिसौल सड्क ट्रयाक खोल्न माग गर्दै डोल्पाका जनप्रतिनिधि काठमाडौँ पुगेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्यासिक्याप-सिसौल सड्क ट्रयाक खोल्न बजेट सुनिश्चित गरिदिन र निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका हुन । ल्यासिक्याप-सिसौल करिब ३० किलोमिटर सड्क ट्रयाक खुल्न सकेको छैन ।
बिहीबार डोल्पा जिल्लाका सङ्घीय सांसद पूर्व शहरी विकाश मन्त्री धन बहादुर बुढाको नेतृत्वमा काईके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना, डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमाधोर्चे गुरुङ र अन्य पदाधिकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई लिखित रुपमा ध्यानाकर्षण गराएको काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले जानकारी दिए । अध्यक्ष रानाका अनुसार हालसम्म पनि यो क्षेत्रमा सडकको ट्रयाक खोल्न नसक्दा नागरिकले दुख पाइरहेको हुँदा जिल्लाबाट नेतृत्व गर्ने सङ्घीय सांसद सहित उक्त सड्क खण्डमा जोडिएका दुई पालिकाका जनप्रतिनिधिले मन्त्रालयमा मन्त्रिलाई नै ध्यानाकर्षण गराएको बताए । सड्क खोल्ने विषयमा मन्त्रालयमा भएको छलफल सकारात्मक रहेको र उत्साहजनक रहेको रानाको भनाई छ ।
दुनै-ल्यासिक्याप-सिशौल-धो-मरिम्ला सड्क खण्ड अन्तरगत दुनैदेखी ल्यासिक्याप सड्क निर्माणको काम भई रहेको छ भने सिशौल देखी धो हुँदै चीनको मरिम्ला सम्म सडकको ट्रयाक खुली सकेको छ । अव ल्यासिक्याप-सिसौल सड्क खण्डको ३० किलोमिटर सड्क खोल्न बजेट सुनिश्चित गरेर निर्माणको काम नेपाली सेनालाई जिम्मा दिन पहल गरिदिन भौतिक पूर्वाधार मन्त्रिलाई नै भेटेर ध्यानाकर्षण गराएको डोल्पा जिल्लाका प्रतिनिधि सभा सदस्य पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढाले जानकारी दिए । पूर्व मन्त्री बुढाले भने यो खण्डमा ३० किलोमिटर सड्क कडा चट्टान रहेकोले नेपाली सेनालाई नै निर्माणको जिम्मा दिनु पर्ने र धेरै प्रक्रिया पूरा भइसकेको र बजेट सहित थप पहल गरिदिन भौतिक मन्त्रिलाई भेटेका हो ।
डोल्पाका जनप्रतिनिधि सहितको टोलीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले उक्त सड्क निर्माणको लागि नेपाली सेनासँग छलफल हुने र सड्क निर्माणको लागि लाग्ने कुल लागत निकालेर प्रक्रिया अघि बढाउने गरी बचनबद्धता गरेको पूर्व मन्त्री बुढाले बताए । बुढाले भने मन्त्रालय सकारात्मक छ आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरेर कामको प्रक्रिया अघि बढाउनेमा विश्वस्त हुने मन्त्रीले प्रतिबद्धता समेत जनाउनु भयो हामी आशावादी छौ ।
भेटघाट डोल्पा जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार र दीर्घकालीन योजनाहरूप्रति सङ्घीय सरकारको प्रतिबद्धता निकै उत्साहजनक रहेको भन्दै डोल्पाबाट मन्त्रालय पुगेका जनप्रतिनिधि उत्साहित छन् । माथिल्लो डोल्पाका नागरिकले निकै कष्टकर यात्रा गरिरहेका छन् भने जोखिम मोलेर खच्चडमा महँगो भाडा तिरेर दैनिक उपभोग्य सामाग्री,निर्माणका सामाग्री र खाद्यान्न ढुवानी गरि रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्