सङ्घीयताको मर्म अनुकूल प्राथमिकताहरू निश्चित गरि बजेट निर्माण गरिने: अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीयताको मर्म अनुकूल स्रोत व्यवस्थापनको सिमाका बिचबाट प्राथमिकताहरू निश्चित गरेर अधिक प्रतिफल प्राप्त गर्नेगरी बजेट निर्माणका लागि मन्त्रालय अगाडी बढेको बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बजेट निर्माणका क्रममा बजेट कार्यान्वयन, स्रोतको अनुमान तथा प्रयोग र खर्च व्यवस्थापनतर्फ सरकारले ध्यान दिने बताउनुभयो ।

उहाँले अघिल्लो बजेटमा स्रोतको अनुमान र खर्चको व्यवस्थापन प्रभावकारी रुपमा नगरी बजेट आएका कारण कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले सरकारको उच्च प्राथमिकतामा रहेको सुशासन कायम गर्नेगरी सम्पूर्ण कामकारबाहीहरू अगाडी बढाएको पनि बताउनुभयो ।
अर्थमन्त्री पौडेलले स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, राष्ट्रिय गौरवका र राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा स्रोतको अभाव नहोस् भन्ने कुरामा ध्यान दिनुपर्ने र ठूलो दायित्व सिर्जना गरिरहेको वहुुवर्षीय आयोजनाहरूको रि भिजिटगर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

योजना बैङ्कमा योजनाहरू प्रविष्ट गर्ने विषयमा विगतका कमजोरीहरूको पुनरावृत्ति नहोस् भन्नेमा आफूहरू सचेत रहेको भन्दै अर्थमन्त्री पौडेले अध्ययन भएका र कार्यान्वयनमा जाने खालका योजनाहरू कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री पौडेलले सरकारले नीति तथा कार्यक्रम पास भएपछि त्यसलाई कार्यान्वयन गर्नेगरी बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरेर त्यसलाई मेल खानेगरी बजेट निर्माण गर्ने बताउनुभयो ।
अबको २ वर्षभित्र सबै सूचकहरू पुरागरी देशलाइ ग्रेलिष्टबाट बाहिर निकाल्नेगरी सरकारले काम गरिरहेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्