खुट्टाको अपाङ्गता भएका २६ जनाले पाए नयाँ जीवन
भद्रपुर, झापा । बीस वर्षअघि ट्र्याक्टर दुर्घटनामा दाहिने खुट्टा गुमाएर अपाङ्ग बन्नुभएका झापा अर्जुनधारा – १ साधुटारका ६५ वर्षीय बलप्रसाद अधिकारी बुधबार निःशुल्क कृत्रिम खुट्टा पाएपछि निक्कै खुशी देखिनुभयो ।
झापाको बिर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा अधिकारीजस्तै खुट्टाको अपाङ्गता भएका २६ जनाले नयाँ जीवन पाएका हुन् । उनीहरुलाई निःशुल्क रुपमा कृत्रिम खुट्टा वितरण गरिएको हो ।

कमजोर आर्थिक अवस्था भएका शिवसताक्षीका तोयानाथ भट्टराई, कचनकवलका भवानीशंकर दाहाल, बुद्धशान्तिकी चपेटी चेम्जोङ, सोही पालिकाका सुशिलकुमार धिमाल, हल्दिवारीकी पूर्णिमाया खड्का, इलाम चुलाचुलीका कर्णबहादुर राई, शिवसताक्षीका युवराज श्रेष्ठ , कचनकवलका राजु शर्मा, बाह्रदशीकी बसन्ती राजवंशी, हल्दिवारीका डल्लु सार्की, मेचीनगरका जीतबहादुर भण्डारी, अर्जुनधाराका अलिफ नूर महमद, शिवसताक्षीका कृष्णबहादुर राई , हल्दिबारीका भोला शर्मा, अर्जुनधाराकी धनमाया तमाङ्गी, मेचीनगरका हरिप्रसाद मिश्र , अर्जुनधाराका सूर्यबहादुर बस्नेतले पनि निःशुल्क कृत्रिम खुट्टा पाउनुभएको छ । अन्यले एक–एक वटा खुट्टा पाएकोमा दुवै खुट्टा गुमाउनुभएका शिवसताक्षीका कृष्णबहादुर राईले दुई वटै कृत्रिम खुट्टा पाउनुभएको छ ।
आर्थिक अभावमा कृत्रिम खुट्टा लगाउन नपाएकाहरूलाई छनोट गरी उनीहरुलाई शिविरमै नाप अनुसार स्वास्थ्य प्राविधिकको सहयोगमा खुट्टा लगाइएको अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले जानकारी दिनुभयो । उहाँका अनुसार २६ जनामध्ये १८ जनाको कृत्रिम खुट्टा शिविरमै लगाइएको छ भने ८ जनालाई काठमाडौँमा लगाइएको थियो ।
मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशाला काठमाडौँको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्