सम्झौताको १० महिनापछि दुई पक्की पुल निर्माणको काम सुरु

जुम्ला । सम्झौता गरेको १० महिना बितेपछि जुम्लामा बल्ल दुई वटा पक्की पुलको निर्माण सुरु भएको छ । दुर्गम गाउँ बस्तीलाई यातायातको पहुँच विस्तार गर्न प्रदेश सरकारको करोडौँ लगानीमा निर्माण हुने पक्की पुल ठेकेदारकै ढिलासुस्तीले सम्झौताको १० महिना बितिसकेपछि बल्ल निर्माण सुरु भएको हो ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तरर्गत पूर्वाधार विकास कार्यालय जुम्लाले जिल्लाको पातारासी गाउँपालिका वडा नं. ६ को लुममा र कनकासुन्दरी गाउँपालिकाको वडा नं. १ को न्याउरीघाटमा पक्की पुल बनाउन ठेक्का खोलेको थियो ।
कुल ११ करोड १८ लाख लागतमा निर्माण हुने लुम र न्याउरीघाट पुल निर्माण गर्ने ठेक्का (एएनसी/एमएनएस/जेएमएस/जेभी) काठमाडौँले पायो । ठेक्का पाएको कम्पनीले पुल निर्माणको जिम्मेवारी पुल सम्बन्धि अनुभव नभएका जुम्लाका निर्माण व्यवसायी तुल्सी रावतलाई दियो ।

दुवै पुल निर्माणका लागि २०८१ जेठ गते नै सम्झौता भएको थियो । निर्माण व्यवसायीकै ढिला सुस्तीका कारण सम्झौता भएको लामो समय बित्दा समेत निर्माण कार्य सुरु नभएपछि स्थानीय आक्रोशित समेत थिए । तर कार्यालयले समयमै निर्माणको अनुमति नदिँदा र हिउँदमा सिमेन्टको काम गर्न नपाइने कारणले ढिलो भएको निर्माण व्यवसायी तुल्सी रावतले बताउनुभयो । उहाँले भन्नुभयो,‘भदौ महिनातिर कार्यालयमा पटक पटक सादा साइट नदिएको र दशै तिहारमा काम भएन । मङ्सिर १५ पछि चिसोले सिमेन्टको काम हुन सकेन् । चाहेर पनि सम्झौता लगत्तै काम सुरु गर्न सकिएन । अब तीव्र गतिमा काम अघि बढाउँछौ ।’
कार्यालयको प्रक्रियागत ढिलाइ, मौसम प्रतिकुलता र भौगोलिक कठिनाइले ढिलो हुन गएको कुरालाई स्वीकार गर्दै मेसिन,जनशक्ति र निर्माण सामाग्री सहित दुवै पुल निर्माणका लागि फिल्डमा खटिएको ठेकेदारका रूपमा रहेका तुलसी रावतको तर्क छ । पुल सम्पन्न कसरी गर्ने होला भन्ने चिन्ता भने उनको मनमा देखिन्छ । तर स्टमेट अनुसारकै गुणस्तर पुल बनाएरै छाड्ने उहाँको दाबी छ ।
पातारासी गाउँपालिका–६ स्थित लुममा पाँच करोड ६४ लाख लागतमा र कनकासुन्दरी गाउँपालिका–१ को न्याउरीघाटमा पाँच करोड ५४ लाख लागतमा कूल ११ करोड १८ लाख लगानीमा पुल निर्माण हुने छन् । दुई पुल निर्माणको ठेक्का एउटै निर्माण कम्पनीले पाएपनि जिल्लामा पुल निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी भरपर्दो नहुँदा काम विलम्ब भएको पूर्वाधार कार्यालयको बुझाई छ ।
पूर्वाधार विकास कार्यालय सूचना अधिकारी दत्त बहादुर बुढ्थापा भन्छन्,‘पुल बनाउने कुरा सामान्य होइन । निकै संवेदनशील भएर बनाउनुपर्छ । तर ठेकेदारलाई इन्जिनियर ल्याउनुहोस् सबै बुझाएर काम गर्न अनुमति दिन्छौ भन्दा इन्जिनियर नै ल्याउन सकेनन् । केही महिना त्यसरी नै बित्यो । हामीले हचुवामा निर्माणको अनुमति दिने कुरा पनि भएन । जसका कारण पुल निर्माण ढिलाइ भएको हो । मुख्यगरी पुल निर्माणको अनुभव नै नभएको निर्माण व्यवसायीसँग काम गर्नुपर्ने भएकोले समस्या निम्तिएको हो ।’
साथै कार्यालय प्रमुख फेरिएपछि पनि निर्माण कार्य प्रभावित भएको देखिन्छ । तत्कालीन कार्यालय प्रमुख प्रभाकर प्रसाद सिंहको सरुवा भइसकेको र नयाँ कार्यालय प्रमुख आउन ढिलाइ भएपछि त्यसको प्रभाव समेत पुल निर्माणमा परेको सूचना अधिकारी बुढ्थापाले जानकारी दिए ।
यद्यपि समयावधि धेरै बाँकी रहेको र पटक पटक ताकेता गरी सबै कुरा बुझाएर पठाएको र अहिले पुलको दुवै साइटमा खन्ने काम सुरु भएको छ । सम्झौताको १० महिना ढिला निर्माण सुरु गरेको उक्त पुल निर्धारित समयमा सम्पन्न नहुने निश्चित जस्तै देखिएको छ । यद्यपि सम्झौतामा तीन वर्षभित्र सम्पन्न गरिसक्ने उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्