शिक्षा ऐन र संघीय निजामती ऐन छिट्टै संसदबाट पारित हुन्छ: मन्त्री गुप्ता

वीरगंज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षा ऐन र संघीय निजामती ऐन विधेयक अब चाडै पारित हुनेमा विश्वस्त हुन सबैमा आग्रह गर्नु भएको छ । करिब एक दशक देखि अलपत्र रहेका यी विधेयकहरूमा झण्डै १८ सय उपदफाहरूमा दफावार छलफल भएको पनि मन्त्री गुप्ताले बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्साको १४ औँ अधिवेशनको आज वीरगंजमा उद्घाटन गर्दै मन्त्री गुप्ताले आउँदो वैशाख १२ गते पछि सुरु हुने संसदमा तिनवटा विधेयकहरू पारित हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाँले नेपाल प्रहरीसँग सम्बन्धी विधेयक पनि प्रस्तुत हुने जानकारी दिँदै सरकारले तिन वटै विधेयक बहुमतले पारित गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

सङ्घीय मामिला मन्त्री गुप्ताले हाल मुलुकमा राजाको बहानामा विभिन्न प्रतिक्रियावादी शक्तिहरू सलबलाउन थालेको बताउँदै नेपाली जनताले त्यस्ता प्रतिक्रियावादी तत्त्वहरूलाई तह लगाउने चेतावनी समेत दिनुभयो ।
उहाँले जुन राजाले आफ्नो परिवार बचाउन सकेनन् उनले देश कसरी बचाउन सक्छन् भन्दै गणतन्त्रको विकल्प कुनै पनि तन्त्र नरहेको दाबी गर्नुभयो ।
मन्त्री गुप्ताले सामन्तवादको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गर्दै राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र र जनता विरोधी भएको हुँदा यस्तालाई जनताले नै ठेगान लगाइदिने बताउनुभयो ।
उहाँले राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएसँगै नेपालमा शाह वंशीय राजसंस्थाको बिधिवत अन्त्य भएको दाबी गर्दै अब नेपाली जनताले कुशले बनेका राजा बोकेर नहिँड्ने चेतावनी राजवादीहरूलाई दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्