तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा पहिलो पर्यटक प्रहरी पोष्ट स्थापना,पर्यटकलाई सुरक्षा दिने उद्देश्य

मुगु । कर्णाली प्रदेशमा पहिलोपटक पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ। सोमबार मुगुको रारा विमानस्थल नजिक अस्थायी रूपमा स्थापना गरिएको यो पोष्टले रारा ताल घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकको सुरक्षाका लागि काम गर्नेछ।

नेपालकै सबैभन्दा ठूलो तथा गहिरो रारा ताल आसपासको क्षेत्र दिनप्रतिदिन पर्यटकको गन्तव्य बन्दै गएको सन्दर्भमा नगर कार्यपालिकाको अनुरोधअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा पोष्ट स्थापना गरिएको हो।

उद्घाटन समारोहका प्रमुख अतिथि छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले मुगु तथा रारा क्षेत्रको पर्यटन सम्भावना उल्लेख गर्दै पर्यटकको सुरक्षित भ्रमण सुनिश्चित गर्न प्रहरी पोष्ट आवश्यक रहेको धारणा राख्नु भयो ।

नगर उपप्रमुख ऐश्वर्या मल्लले हाल अस्थायी पोष्ट स्थापना गरिए पनि निकट भविष्यमा सल्लेरी क्षेत्रमा स्थायी पोष्ट निर्माण गरिने जानकारी दिनुभयो । उनका अनुसार, भवन तथा संरचना निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइएको छ, र वन मन्त्रालयबाट स्वीकृति प्राप्त भए लगत्तै स्थायी पोष्ट निर्माण सुरु हुनेछ।

प्रहरी नायव उपरीक्षक सरोज गिरीका अनुसार, पर्यटक प्रहरीले पर्यटकको मात्र नभई समग्र सुरक्षा व्यवस्थामा समेत टेवा पुर्‍याउने छन्। यस पोष्टको स्थापनाले रारा तालसहित मुगुका अन्य पर्यटनस्थलको भ्रमण अब अझ सुरक्षित र व्यवस्थित हुने उनको भनाइ छ।

हाल नेपालभर २९ वटा पर्यटक प्रहरी युनिटहरू छन् भने कर्णाली प्रदेशमा यो पहिलो हो। रारा स्थित अस्थायी पोष्टका सहायक प्रहरी निरीक्षक सन्जु कुमार विश्वकर्माले पर्यटक प्रहरीको मुख्य काम सुरक्षाका साथै गाइड सेवा प्रदान गर्नु पनि भएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button