रामनवमीको अवसरमा भव्य शोभा यात्रा

बीरगंज । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा आज वीरगञ्जमा भव्य शोभा यात्रा निकालिएको छ ।
वीरगञ्जको ऐतिहासिक राम मन्दिर बाट सुरु गरिएको शोभा यात्राले नगर परिक्रमा गरेको थियो ।
शोभा यात्रामा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, विभिन्न मन्दिरका पुजारीहरू, धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यात्रामा भजन–कीर्तन, धार्मिक झाँकी तथा श्रद्धालुहरूको उत्साहपूर्वक सहभागिताले वातावरण भक्तिमय बनाएको थियो ।
रामनवमी, जसलाई राम जयन्ती पनि भनिन्छ, भगवान् रामको जन्म दिवसका रूपमा मनाइन्छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका सुपुत्रका रूपमा चैत्र शुक्ल नवमीका दिन रामचन्द्रको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । रामलाई भगवान् विष्णुको सातौँ अवतारका रूपमा पुजिन्छ ।

धार्मिक शास्त्रअनुसार भगवान् रामले आफ्नो जीवनमा आदर्श, नैतिकता र मर्यादालाई सर्वोच्च स्थान दिएको बताइन्छ, जसका कारण उनलाई मर्यादा पुरुषोत्तम उपाधि दिइएको हो । ‘रामराज्य’ आज पनि सुशासन र न्यायको प्रतीकका रूपमा स्मरण गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्