भीमनारायण गोल्डकप: गाइघाट क्लब फाइनलमा

धनकुटा । धनकुटामा जारी १७ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा गाइघाट फुटबल क्लब उदयपुर फाइनलमा प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाडौँलाई २–१ गोल अन्तरले हराउँदै गाइघाट उपाधि नजिक पुगेको हो। खेलको पहिलो मिनेटमा एपिएफ क्लबका युवराज खड्काले गरेको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा एपिएफ प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको हो। खेलको ६० औँ मिनेटमा गाईघाटका किस्मत लिम्बुले गोल गरे भने ७० औँ मिनेटमा विदेशी खेलाडी फोफोनाले गोल गरेका थिए। खेलको म्यान अफ द म्याच गाईघाटका विदेशी खेलाडी फोफोना घोषित हुँदै नगद ५ हजार ५ हात पारे ।
गाइघाटले उपाधिका लागि बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलको विजेता नमोबुद्ध युथ फुटबल क्लब शनिबार प्रतिस्पर्धा गर्नेछ। नमोबुद्धले साविक विजेता विर्तामोड युनाइटेड क्लब झापालाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ ।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो। सरकारले श्रेष्ठलाई २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्