पत्रकार रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यारा पत्ता लगाउन माग

नेपालगञ्ज । राजावादीले गरेको आन्दोलनमा पत्रकार हत्या, आक्रमण तथा सञ्चार गृहमा भएको आगजनी र तोडफोडको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै बाँकेका पत्रकारहरूले ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासङ्घ बाँकेको अगुवाइमा आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्दै गर्दा आगोमा जलेर ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उहाँको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष नवीन गिरीले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारीलाई खडानन्द खत्रीलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष गिरीले एक साताभित्र माग पूरा हुने विश्वसनीय आधार नदेखिए महासङ्घ आन्दोलनमा उत्रिन बाध्य हुने बताउनुभयो ।

ज्ञापनपत्रमा भनिएको छ, “विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि महासङ्घ माग गर्दछ । हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्दछौँ । अन्यथा महासङ्घ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण समेत गराउँदछौ ।” ज्ञापनपत्र बुझाउन पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरू निरज गौतम, झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस सङ्गठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा लगायत पत्रकारहरू जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।
उक्त हिंसात्मक आन्दोलनमा भिडियो खिच्ने क्रममा पत्रकार रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुर्याइएको थियो भने कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुर्याइएको थियो । यस्तै हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुर्याउनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निरज तामाङको क्यामेरा हराएको थियो ।
प्रतिक्रिया राख्नुहोस्