तपाईँ सुन्दै हुनुहुन्छः

भीमनारायण गोल्डकप विर्तामोड विजयी

धनकुटा । धनकुटामा जारी शहिद भीमनारायण गोल्डकपमा साविक विजेता विर्तामोड युनाइटेड क्लब विजयी भएको छ । 

मङ्गलवार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँलाई ३–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको ४५ औँ मिनेटमा विर्तामोड युनाइटेड क्लबका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५८ औँ विशाल भण्डारी र खेलको ६३ औँ मिनेटमा गिल्सन कन्दङ्वाले गोल गरेर बिर्तामोडलाई खेललाई ३–० अवस्थामा पुर्‍याएका थिए। यस्तै खेलको ७० औँ मिनेटमा चित्लाङ फुटबल क्लबको लागि विदेशी खेलाडी डोकुले सान्त्वना गोल गरे ।

चित्लाङ फुटबल क्लबले गोल गर्ने धेरै अवसर गुमाउँदा पराजित भएको हो। खेलको म्यान अफ द म्याच विजेता टिम बिर्तामोडका कप्तान गिल्सन कन्दङ्वा घोषित भए। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत बुधबार विभागीय क्लब सशस्त्र प्रहरी बल काठमाडौँ र बेलबारी फुटबल क्लब मोरङ बिच पहिलो चरणको अन्तिम खेल हुने आयोजकले जनाएको छ। यसअघि नमोबुद्ध युथ फुटबल क्लब सप्तरी र गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा पुगिसकेका छन् । 

चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उप विजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । 

२०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ। विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो। सरकारले श्रेष्ठलाई २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button