तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा एकै दिन लागू औषधका तीन घटना: छ जना पक्राउ 

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका विभिन्न स्थानबाट सोमबार एकै दिन लागू औषधका तीन वटा घटनामा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शङ्का लागि चेकजाँच गर्ने क्रममा उनीहरूबाट खैरो हेरोइन समेत बरामद गरेको हो । तीन वटै घटनामा संलग्न व्यक्तिहरूलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । हाल पक्राउ परेकाहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पहिलो घटना 

भीमदत्त नगरपालिका–११, सात नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका–८ बस्ने २४ वर्षीय तेज बहादुर विकले चलाएको सु.प.प्र०२–००३ प ७१५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा २.७१ ग्राम खैरो हेरोइन फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका २७ वर्षीय हरेन्द्र सिंह बडाल समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

दोस्रो घटना 

त्यसै दिन बेलुकी ७ बजे भीमदत्त नगरपालिका–११, सात नम्बर पिल्लरनजिक भारतबाट नेपाल आउँदै गरेको अवस्थामा भीमदत्त–५ सुकासाल बस्ने २६ वर्षीय अमित पन्तले चलाएको यु.के ०६ बी.डी ८३८९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १.७९ ग्राम लागू औषध खैरो हेरोइन फेला परेको थियो । मोटरसाइकलको पछाडि बसेका २१ वर्षीय करन पन्त समेत पक्राउ परेका छन् ।

तेस्रो घटना 

सोही दिन बेलुकी ७:१० बजे भीमदत्त नगरपालिका–११, गड्डाचौकी नजिक प्रहरीले शङ्का लागि चेकजाँच गर्दा भीमदत्त–१८ बस्ने २० वर्षीय आयुष पालले चलाएको सु.प.प्र०२–००३ प ७४२७ नम्बरको मोटरसाइकलबाट ०.९१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । मोटरसाइकलको पछाडि बसेका १८ वर्षीय किशोर समेत पक्राउ परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button