कुपोषण न्यूनीकरणका लागि विशेष पहल जरुरी : मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ ।

लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई समानुपातिक भन्दा पनि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धा गरेर अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
त्यस अवसरमा मुख्यमन्त्री आचार्यले मानवीय विकासका लागि तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
‘तथ्याङ्कका हिसाबले हेर्ने हो भने मातृ मृत्युदर, बाल मृत्युदर अन्य प्रदेशको तुलनामा उच्च छ । कुपोषण पनि बढ्दो छ । यी समस्या समाधान गर्न तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने छ । सीमान्तकृत समुदायमा जनचेतनाको अभिवृद्धिका लागि विशेष जोड दिनुपर्छ । जसरी हामीले जनचेतना अभियान चलाउनुपर्ने हो, त्यो चलाउन सकेनौँ कि एक पटक समीक्षा गर्न जरुरी छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार भौतिक पूर्वाधारको विकास जतिसुकै गरे पनि चेतनाको विकास नभएसम्म त्यसको अर्थ हुँदैन । लुम्बिनी प्रदेशमा तीन तहका जनप्रतिनिधिहरूलाई एकै थलोमा भेला गराएर प्रदेशको समृद्धिमा योगदान पुर्याइएको बताउनुभयो ।
काम गर्ने क्रममा देखा परेका समस्याहरूलाई सहकार्यबाट समाधान गर्न सकिने उल्लेख गर्दै कानुनी जटिलता फुकाउन प्रदेश सरकारले ध्यान दिने पनि मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्