रुपन्देहीमा डेढ वर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु, पहिचान नहुँदा बिरामी बढ्दै

रुपन्देही । रुपन्देहीमा गएको डेढ वर्षमा ८० जनाको क्षयरोगबाट मृत्यु भएको छ । नियमित औषधि सेवन र उपचारबाट क्षयरोग निको हुने भए पनि समयमै रोगको पहिचान र उपचार नगराउँदा उनीहरूको मृत्यु भएको हो ।
क्षयरोग नेपालमा एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याको रुपमा रहेको छ । सरकारले क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास गरिरहे पनि समयमै रोगको पहिचान र उपचार नपाउँदा नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ ।
रुपन्देहीमा विगत डेढ वर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ७ सय ७९ जना क्षयरोग सङ्क्रमितको सङ्ख्या पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार २०८० को साउनदेखि २०८१ को पुस महिनासम्म रुपन्देहीमा २ हजार ७ सय ७९ जना क्षयरोगको संक्रमित सङ्ख्या पाइएको हो । कार्यालयका प्रमुख चिन्तामणि ज्ञवालीले समयमै रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र एचआइभीसहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार, आ।व। २०८०/०८१ मा रुपन्देहीमा २ हजार १२ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसयता २०८१ को साउनदेखि पुस महिनासम्ममा नयाँ बिरामी ७ सय ७६ जना फेला परेका हुन् ।
२०८०/०८१ को तथ्याङ्क अनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ४ सय ४३, तिलोत्तमा नगरपालिकामा २ सय ७१, सिद्धार्थनगर नगरपालिकामा १ सय ७०, सैनामैना नगरपालिकामा १ सय ४६, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ सय २३, देवदह नगरपालिकामा १ सय ३९, मायादेवी गाउँपालिकामा १ सय १, कञ्चन गाउँपालिकामा ९६, गैडहवा गाउँपालिकामा ८६, ओमसतिया गाउँपालिकामा ८२, शुद्धोधन गाउँपालिकामा ७७, कोटहीमाई गाउँपालिकामा ६५, रोहिणी गाउँपालिकामा ६२, मर्चवारी गाउँपालिकामा ५३, सम्मरीमाई गाउँपालिकामा ४९ र सियारी गाउँपालिकामा ४९ जना बिरामी छन् । उक्त सङ्ख्यामध्ये १ हजार २ सय ३७ जना फोक्सोको क्षयरोगका बिरामी छन् ।
स्वास्थ्य कार्यालयका क्षयरोग फोकलपर्सन टीकाराम अधिकारीले उपचाररत बिरामीले दुई महिनासम्म औषधि सेवन गरे निको भएको ठानेर त्यसपछि नियमित औषधि सेवन नगर्नाले समस्या बल्झिने धेरै रहेको बताउनुभयो।
भैरहवाका २० वर्षीय कुशल रिजालले एक वर्षअघि क्षयरोग भए पनि समयमै पहिचान र उपचार पाउँदा निको भएको बताए । उनले नियमित रुपमा औषधि सेवन गर्नुपर्ने र खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
क्षयरोग उपचार गर्न सकिने रोग हो, तर समयमै पहिचान र नियमित औषधि सेवन गर्न भने जरुरी छ । सचेतना, सरसफाइ र सही उपचार अपनाएमा नेपाललाई क्षयरोगमुक्त बनाउन सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्