प्रधानमन्त्री कप क्रिकेट : कर्णाली प्रदेशलाई हराउँदै पुलिस क्लब फाइनलमा
रुपन्देही । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब एक खेल खेल्न बाँकी हुँदै फाइनल पुगेको छ । मङ्गलवार भएको खेलमा पुलिस कर्णाली प्रदेशलाई हराउँदै फाइनलमा पुगेको हो ।

दाङ लमहीको देउखुरी क्रिकेट रङ्गशालामा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको छ । पुलिसले दिएको १४७ रनको लक्ष्य पछ्याउँदै कर्णाली प्रदेश २४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै खुम्चिएको थियो । कर्णालीको लागि रविन्द्र शाहीले ४९ रन र अर्जुन घर्तिले ३० बनाउँदा अन्य ब्याट्सम्यानहरू दोहोरो अङ्क समेत जोड्न सकेनन् ।
पुलिस क्लबका लागि म्यान अफ द म्याच समेत रहनुभएका ललित राजवंशीले ९ ओभरमा ४१ रन खर्चिँदै ६ विकेट लिए । यसै गरि सागर ढकालले २ र करण केसीले १ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । पुलिसका लागि अर्जुन साउदले ३६ रन, दिलिपनाथले ३४ रन र सागर ढकालले अविजित २२ रन बनाए ।
बलिङमा कर्णाली प्रदेशका अनुज चुनाराले ४, दिवन पुनले ३ विकेट र दिनेश अधिकारी, दिपेन्द्र रावत तथा सुनिल धमलाले समान १र१ विकेट लिए ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ८ खेल खेलेको नेपाल पुलिस क्लब अविजित रहँदै १६ अङ्क बटुलेर शिर्ष स्थानमा रहेको छ । यस्तै ८ खेल नै खेलेको त्रिभुवन आर्मी भने ७ मा जितसहित १४ अङ्कका दोस्रो स्थानमा रहेको र ८ खेल नै खेलेको सशस्त्र ६ मा जित सहित १२ अङ्क लिएर तेस्रो स्थानमा रहेको छ ।
यस्तो अवस्थामा बिहीबार हुने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी बिचको खेलमा पुलिस पराजित भए पनि १६ अङ्क पाएको उसलाई फाइनल पुग्न कुनै बाधा पुग्ने छैन ।
यसै गरि सशस्त्र प्रहरी बलले पनि फाइनल पुग्ने आशा कायमै राखेको छ । तर सशस्त्र फाइनल पुग्न बिहीबारको खेल आर्मीले हार्नुपर्ने हुन्छ भने भोली कोशी प्रदेशसँग हुने सशस्त्रको टिमलाई राम्रो रन रेटसहित जित्नै पर्ने बाध्यता रहेको छ ।
शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आर्मी र पुलिस बिच फाइनल खेल हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्