प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

दाङ । दाङमा रहेको एक प्लाई उद्योगमा भीषण आगलागी भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
राती करिब साढे १ बजेदेखि लागेको आगो यो समाचार तयार पार्दा सम्म पनि अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाका अनुसार अहिले आगलागी भएको क्षेत्रमा ७ वटा दमकलले आगो निभाई रहेका छन् । सो स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरूको संयुक्त टोली पनि आगो नियन्त्रण गर्ने कार्यमा लगातार खटिरहेका छन् । ७ विगाह क्षेत्रफलमा उद्योग फैलिएको र कच्चापदार्थहरू धेरै भएको हुँदा आगो नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिनुभयो ।
‘आगलागी नियन्त्रणको प्रयास जारी छ तर आगो यतिवेलै नियन्त्रणमा आउँछ भन्न सकिने अवस्था छैन’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी तिमिल्सिनाले भन्नुभयो । आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नष्ट भएको छ । उद्योगमा लागेको आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्