तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा वर्षेनी कोदो उत्पादन घट्दै    

गुल्मी । गुल्मी जिल्लामा कोदो उत्पादन वर्षेनी घट्दै गएको छ । जिल्लामा गत वर्ष भन्दा यो वर्ष पनि उत्पादन कम भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा प्रत्येक वर्ष कोदोको क्षेत्रफल घटिरहेको छ । तर उत्पादनमा भने ठूलो गिरावट देखिँदैन ।

बिगत ५ वर्षको तथ्याङ्क विश्लेषण गर्दा क्षेत्रफल घटेता पनि उत्पादन भने स्थिर देखिएको छ । जिल्लामा यस वर्ष २ हजार ८३४ हेक्टर क्षेत्रफलमा ३ हजार ५७० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मी कृषि प्रसार अधिकृत शिवप्रसाद बन्जाडेले बताउनुभयो । 

गएको आर्थिक वर्ष ०८०/८१ मा २ हजार ८८३ हेक्टर क्षेत्रफलमा ३ हजार ६९० मेट्रिक टन कोदो उत्पादन भएको थियो । पछिल्लो समयमा गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरू खेती भन्दा अलि झन्झटिलो भएकोले यसप्रति मानिसको आकर्षण घट्दै गएको बन्जाडेले बताउनुभयो ।

बीउ छर्ने बेला पानी नपरी खडेरी पर्नु बीउ कम उम्रनु साथै कोदो रोग समेत ( छिर्केमिर्के) देखिनुले कोदो उत्पादन कम भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जङ्गली जनावर, जङ्गली बाख्रा खरायो, मुसा लगायत जनावरले किसानलाई निकै समस्या दिने गरेको कृषकहरूले बताउने गरेका छन् ।

जिल्लामा ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो यहाँका कृषकहरूले लगाउने जातहरू रहेका छन् । जिल्लामा इश्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी, चन्द्रकोट मुख्य पकेट क्षेत्रहरू रहेका छन् । कोदो खेती असार र साउन महिनामा मकै भित्र रोप्ने गरिन्छ । यो खेती कात्तिक महिनाको अन्तिमबाट मङ्सिर अन्तिमसम्म भित्र्याउने गरिन्छ ।

परम्परागत रुपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो सहरबाहिर ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो । पछिल्लो समय कोदोको ढिँडो तारे होटलको मेनुमा महत्वपूर्ण सूचीमा पर्दै आएको छ । 

गुल्मीमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदो बालीको पछिल्लो समय प्रवर्द्धन पछि महत्व बढ्दै गएको छ । कोदो खेती बिस्तारै घट्दै गएपछि इस्मा गाउँपालिकाले रैथाने बाली संरक्षण अभियान चलाएको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । 

कोदो बाली लगाउने र सार्ने समयमा कृषकलाई झन्झटिलो र लागत बढी लाग्ने गरेकाले कोदो खेती गर्ने घट्दै गएको उनले बताए । कोदो खेतीलाई प्रविधि मैत्री बनाएर कम लागतमा बढी उत्पादन गर्ने तर्फ पालिकाले चासो देखाइरहेको अध्यक्ष खड्काले बताउनुभयो । त्यसका लागि पालिकाले कोदो लगाउने मेसिन खोजी रहेको खड्काले बताए । कोदोको बजारीकरणमा कुनै समस्या नरहेकाले उत्पादनमै यसको समस्या रहेको बताउनुभयो । 

पश्चिम क्षेत्रमा गाउँपालिकाहरूले कृषि उत्पादनलाई संयुक्त रुपमा बजारीकरण गर्नका लागि पनि छलफल भइरहेको उनको भनाइ छ । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ ।

तर पछिल्ला वर्षहरूमा कोदो खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएको छ । कोदोको उत्पादन कम वर्षा र कम उर्वर भूमिमा पनि हुने भएकाले सिञ्चित र असिञ्चित दुवै खाले भू–भागमा लगाइने महत्वपूर्ण बाली रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button