षडानन्दले जित्यो दोस्रो मेयर कप भलिबलको उपाधि
भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको दोस्रो मेयर कप आमन्त्रित अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा षडानन्द नगरपालिकाले जिल्लाकै रामप्रसाद राई गाउँपालिकालाई लगातार २५–२३, २५–१७ र २५–२२ सेटले हराउँदै विजेता बनेको हो ।
शनिवार नै भएको सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पराजित गर्दै षडानन्द नगरपालिका र दोस्रो खेलमा भोजपुर नगरपालिकालाई हराउँदै रामप्रसाद राई गाउँपालिका फाइनलमा प्रवेश गरेका थिए ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको विजेता षडानन्द नगरपालिकाले नगद एक लाख २० हजार हात पार्यो भने उपविजेता रामप्रसाद राई गाउँपालिकाले नगद ६० हजारमा चित्त बुझाएको छ ।
यस्तै सेमिफाइनललिष्ट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र भोजपुर नगरपालिकाले नगद ३० हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताका सर्वोकृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भरलाई नगद चार–चार र सहभागी टिमहरूलाई पनि नगद १० हजार प्रदान गरिएको आयोजक जिल्ला भलिबल संघका महासचिव सङ्ग्राम किराँतीले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाली सेनाको भोजपुरमा रहेको श्री नयाँ श्रीनाथ गण, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिका गरी सात टिमले सहभागिता जनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्