दुर्गम गाउँमा पुगेर गर्भवती महिलाहरूको चेकजाँच गर्दै स्वास्थ्यकर्मी सीमा

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको अति दुर्गम मानिने वडा नं. १ चौफेरीका नागरिकलाई स्वास्थ्य संस्था पुग्न निकै कठिनाइ छ । चौफेरी लगायत तिन गाउँका बासिन्दालाई होलिया स्वास्थ्य चौकी पुगेर सामान्य चेकजाँच गर्न पनि एक दिन लाग्छ ।
तर डुडुवा गाँउपालिकाले गाउँघर क्लिनिकलाई व्यवस्थित गरे पछि दुर्गम बस्तीका नागरिकले पनि गाउँ घरमा स्वास्थ्य सेवा लिन पाएका छन् । होलिया स्वास्थ्य चौकीमा सिअनमीका रूपमा सीमा घर्तिमगर खान आएपछि गर्भवती महिलालाई घण्टौँको पैदल यात्रा गर्नुपरेको छैन । गर्भवती महिलाहरूको चेकजाँचका लागि सीमा साथमा उपकरण बोकेर आफैँ गाउँ पुग्छिन् । पहिले स्वास्थ्य संस्थासम्म पुग्ने अप्ठ्यारा बाटा र समयका कारण धेरै गर्भवतीले ज्यान गुमाएको स्मरण गर्दै स्थानीय रिना यादवले अहिले अवस्था फेरिएको बताउनुभयो ।
२५ वर्षीया शर्मादेवी यादवले स्वास्थ्यकर्मी सीमा खान आफ्ना लागि भगवानजस्तै भएको बताउनुभयो । केही महिनाअघि मात्र आफ्नो पेटको बच्चा एक दम सानो रहेको थाहा पाए पनि आर्थिक अभावले उनले पोषिलो खाना राम्रोसँग खाना नपाएकोले घरमै प्रसूति गराउने निर्णय लिइन तर, अन्तिम अवस्थामा स्वास्थ्यकर्मी सीमाको आफ्नै जोडबलमा डुडुवा २ बेतहानीमा रहेको स्वास्थ्य संस्थामा प्रसूति गराउने निर्णय लिएको बताउनु भयो । उहाँले भन्नुभयो, बच्चाको तौल निकै कम रहेकोले लाजले गर्दा स्वास्थ्य संस्थामा प्रसूति नहुने निर्णयमा पुगेको थिए तर सीमा मेड्मको सल्लाहले मेरो सोचमा परिवर्तन आएको सुनाउनु भयो ।
स्वास्थ्यकर्मी सिमाले भन्नुभयो, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिकाले गाँउबस्तीमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने तर्फ केन्द्रित रहेको छ । उहाँले भन्नुभयो, “पहिला भन्दा अहिले स्वास्थ्यमा सुधार हुँदै आएको छ, गाउँ बस्तीमा पुगेर स्वास्थ्य चेकजाँच गरी रहेका छौँ,यसले गर्भवतीलाई थोरै भए पनि राहत मिल्ने छ, भौगोलिक विकटताका कारण धेरै समस्या हामीहरुले झेल्नु परेको छ, यद्यपि समस्याहरू समाधान गर्नतर्फ पालिका लागिरहेको छ ।”

पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने चौफेरीका महिला अहिले भने खुलेरै आफ्नो समस्या सुनाउने गरेको सिमाले बताउनु भयो । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको उहाँको भनाइ थियो ।
गाउँ गाँउमा पुगेर स्वास्थ्यकर्मीले सुत्केरी सेवा प्रदान गरिँदै आएको डुडुवा गाउँपालिकाका स्वास्थ्य संयोजक हेमन्त शर्माले बताउनु भयो । चौफेरी गाउँलाई पूर्वबाट राप्ती नदी र पश्चिमबाट डुडुवा खोलाले घेरेको छ । उक्त गाउँका नागरिकहरू सडक, बिजुली लगायत आधारभूत आवश्यकताबाट वञ्चित रहे पनि राज्यको ध्यान पुग्न सकेको छैन ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले ग्रामीण बस्तीका सडक निर्माण तीव्र रुपमा भई रहेको बताउँदै चौफेरीका जनतालाई विकासको मूलधारमा जोडिनका लागि पालिकाले योजना निर्माण गरेको बताउँदै उक्त गाँउमा सडक र बिजुली एक वर्ष भित्रै पुर्याउने जिकिर गर्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्