तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशले दियो आर्मीलाई ११७ रनको विजयी लक्ष्य

लमही । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११७ रनको मध्यम विजयी  लक्ष्य दिएको छ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जोड्यो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए । उनले ४९ बल खेल्दै ४ चौकाको मद्दतमा ३३ रन जोड्दै साहब आलमको बलमा बोल्ड आउट भए ।

पहिलो विकेटका लागि १२ दशमलव ३ ओभरमा ४६ रनको साझेदारी गरेका अर्जुन र समीर कँडेलको विकेट पतनपछि गण्डकीका अरू  खेलाडी सस्तैमा समेटिए ।

समीर ८ रन जोडेर साहब आलमको बलमा पहिलो विकेटका रुपमा आउट भएपछि गण्डकीका अरू खेलाडीले पारी सम्हाल्न सङ्घर्ष गर्नु पर्‍यो ।

दीपक डुम्रे १९ रनमा, कमल परियार १७ रनमा, कप्तान विपिन खत्री १५ रनमा आउट भए । अरू खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

आर्मीका साहब आलमले एक्लै पाँच विकेट लिए । उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए ।

कुशल मल्लले १० ओभरमा १ मेडनसहित २४ रन दिएर २ विकेट लिँदा नरेन साउदले ३ बल फाल्दै १ रन दिएर २ विकेट लिए ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अङ्क तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टिम बीच खेल भइरहेको छ ।

अहिलेसम्म ६ खेल खेली सकेको आर्मी ५ मा जीत र १ मा हार व्यहोर्दै १० अङ्कका साथ दोस्रो स्थानमा रहँदा समान ६ खेल खेली सकेको गण्डकी प्रदेश १ खेलमा जीत र ५ खेलमा लगातार हार व्यहोर्दै २ अङ्कका साथ अङ्क तालिकाको दशौँ स्थान अर्थात् पुछारमा छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा

३ विभागीय टिम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button