तपाईँ सुन्दै हुनुहुन्छः

रोङ गाउँपालिकामा १ सय २१ ‘गुरु किसान’ घोषणा

इलाम । रोङ गाउँपालिकाले बुधबार एक समारोहका बिच १ सय २१ जनालाई ‘गुरु किसान’ घोषणा गरेको छ । गाउँपालिका भित्रका करिव पाँच हजार किसानहरुबाट अगुवा किसान छनौट गरि ‘गुरु किसान’ घोषणा गरेको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास)ले बताउनु भएको छ ।

कार्यक्रममा गाउँपालिकाकाे वडा नं. ५ इरौटारमा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटनसँगै छनौट भएका एक सय २१ गुरु किसानलाई गाउँपालिकाले मागमा आधारित सेवा प्रधान गर्ने घोषणा गरेको छ ।

कृषि तथा पशुपन्छी बिकास मन्त्री राम प्रसाद अधिकारी, तथा कोशी प्रदेश उधोग कृषि तथा सहकारी बिकास मन्त्री खगेन सिंग लिम्बू र गाउँपालिका अध्यक्षले गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको उद्घाटन गर्नु भएको हो ।

कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन गुरु किसान छनौट गरी गुरु किसान परिचय पत्र वितरणसमेत गरिएको छ । थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने किसानलाई गुरु किसानका रुपमा छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।

क्रमशः गुरु कृषक थप गर्दै लैजाने गाउँपालिकाको लक्ष रहेको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास)ले जानकारी दिनुभयो । उहाँका अनुसार गुरु किसान ब्यवस्थापन कार्यविधि २०८० जारी भएको छ । सोही अनुरुप कार्यक्रम अगाडी बढाइएको हो । गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रबर्द्धन गर्ने अध्यक्ष स्याङ्बोको भनाइ छ ।

कार्यविधिमा तोकिएका मापदण्ड पूरा गरेपछि मात्र किसान ‘गुरु किसान’ सूचीमा दर्ता हुनेछ्न । गुरु किसानका लागि पालिकाले वर्षमा एकपटक वा आवश्यकताअनुसार सूचना जारी फम खुलाउने छ । मापदण्ड पूरा गरेकाले मात्रै आवेदन दिन पाउनेछन । पालिकाले आवेदन अध्ययन गरी ‘गुरु किसान’ घोषणा गर्ने जनाइएको छ ।

जुन उत्पादनमा गुरु किसान हुने हो, कम्तीमा तीन वर्षदेखि त्यही खेतीमा आबद्ध भएको , वार्षिक आम्दानी, रोजगारी सिर्जना र सहकार्यलगायत दर्जनौँ मापदण्ड पूरा गर्नु पर्ने हुन्छ ।

‘उत्पादन, प्रशोधन र बजारको तीन खम्बे रणनिति लिइएको छ ।’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो । प्रशोधनमा निजि क्षेत्रलाई प्रवद्धन गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ ।

गाउँपालिका भित्रका ६ वटै वडाका किसान छनौट गरेर वडास्तरीय अभिमुखीकरण समेत प्रदान गरिएको छ । पालिका छनौट भएका ‘गुरु किसान’ ले गाउँमा आइपरेका कृषिका समस्या समाधान गर्न समेत भूमिका खेल्ने पालिकाको कृषि सेवा शाखाले जनाएको छ ।

पहिलो चरणमा एक सय २१ जना किसानलाई गुरु किसान छनौट गरिएको छ । संघीय सरकार अन्तर्गत योजना आयोगको पाँच करोड बिशेष अनुदानबाट तीन वटा उद्योग स्थापना गर्न लागिएको छ । सबैभन्दा पहिला स्थापना भएको कृषि प्रशोधन उद्योगको बुधबार नै उद्घाटन गरिएको हो । अन्य दुईवटा उद्योग निर्माणाधिन अवस्थामा रहेका छन् ।

संघीय सरकारको अनुदानबाट करिव ७० लाख लागतमा कृषि प्रशोधन उद्योगको भवन निर्माण गरिएको छ । त्यस्तै करिव ४० लाख लागतमा औजार खरिद गरिएको गाउँपालिकाका लेखा अधिकृत मनिस भट्टराईले जानकारी दिनुभयो । यहाँका ब्यवसायिक र निश्चित मापदण्ड पुरा गर्ने किसानहरुबाट गुरु किसान छनौट गरिएको हो ।

कृषि पेसाबाट किसान पलायन हुन नदिन यो कार्यक्रम ल्याइएको जनाइएको छ । गाउँपालिकामा बिशेष गरेर अलैँची, चिया, कफी, अदुवा, सुपारी, बेसार, सुन्तला उत्पादन हुन्छ । गाउँपालिकाले सिस्नोको चिया समेत उत्पादन गर्दै आएको छ । गाउँपालिकाले रोङ गुन्द्रुक, रोङ मह, रोङ बेसार, रोङ तिते करेला ब्राण्डिङ गरेर बजारीकरण गरिरहेको छ । कृषिमा रोङले नमुना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button