तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाबाट बैङ्किङ कसुर तथा सजाँय दोस्रो संशोधन विधेयक २०८० पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पारित गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैङ्किङ कसुर तथा सजाय दोस्रा संशोधन विधेयक २०८० सर्वसम्मतिले पारित भएको हो । 

यस्तै बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ टेबुल भएको छ । 

यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदका मौखिक प्रश्नहरूको जवाफमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बढी क्षति पुर्‍याउने वन्यजन्तुहरूलाई हानिकारक वन्यजन्तुको रुपमा वर्गीकरण गरी नियन्त्रणका उपायहरू अपनाउने, वन्यजन्तुले कम क्षति पुर्‍याउने वैकल्पिक खेतीहरू प्रवर्द्धन गर्ने र वन क्षेत्रलाई उत्पादनशील वन क्षेत्रमा रूपान्तरण गरी मध्यवर्ती क्षेत्रका जनताको आयआर्जनसँग जोड्ने कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो । 

यस्तै बैठकमा सांसदका मौखिक प्रश्नहरूको जवाफमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सिँचाइ पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिँदै कृषि क्षेत्रको रूपान्तरण र दिगो विकासका योजनाहरू अगाडि बढिरहेको बताउनुभयो ।

मन्त्री खड्काले नेपालमा २५ लाख हेक्टर भन्दा बढी भूभाग सिँचाइयोग्य रहेको मध्ये करिब १५ लाख हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको पनि सभा समक्ष जानकारी गराउनुभयो । 

यस अघि बैठकमा सांसदहरूले बजारमा गुणस्तरहीन औषधि तथा खाद्यवस्तुको बिक्री वितरण रोक्ने नियमित अनुगमन र गुणस्तर परीक्षण गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै सांसदहरूले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरी शिक्षण संस्थामा प्राज्ञिक वातावरण निर्माण गर्न, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका कलेजहरूमा छिटो भन्दा छिटो निर्वाचन हुने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सांसदहरूले वैदेशिक रोजगारीका लागि दुबई गएर सम्पर्कविहीन भएकी तुलसीपुर दाङ् निवासी लिला श्रेष्ठ खोजी कार्यमा पहल गर्न, सुख्खा याम सुरु भएसँग देशका विभिन्न ठाउँमा आगजनीका घटनाहरू बढिरहेको प्रति ध्यानाकर्षण गराउँदै क्षति न्यूनीकरणका लागि सरोकारवालाहरूलाई जागरूक गराउन माग गर्नुभयो ।

यस्तै बैठकमा सांसदहरूले संविधान कार्यान्वयन र जनअपेक्षा सम्बोधनमा ध्यान पु¥याउन नसक्दा सडकमा व्यवस्था विरोधी गतिविधि बढ्न गएको प्रति समयमै सजग हुनुपर्ने बताउनुभयो । 

सांसदहरूले रोजगारीका अवसरहरू सिर्जना तथा बढ्दो महँगी नियन्त्रण गरी जनताको दैनिक जीविकोपार्जन सहज बनाउन ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button