प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले संविधानको कार्यान्वयन, कानुन निर्माण, सुशासन र रोजगारीको विकास, लोकतन्त्रको रक्षा, विभिन्न माग राख्दै भइरहेका आन्दोलन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजावादीहरूलाई गणतन्त्रको जगलाई कमजोर नठान्न चेतावनी दिँदै नेपालमा अब कुनै हालतमा राजतन्त्र नफर्किने बताउनुभयो ।
नेकपा एमाले सांसद सुनिता बरालले राजनीतिक दलहरूले एकले अर्कालाई गाली गर्ने भन्दा पनि जनताको आवश्यकताका हिसाबले अगाडी बढ्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले जनताले पछि फर्किन नभइ उन्नत लोकतन्त्र चाहेको भन्दै अब राजतन्त्र फर्किन नसक्ने बताउनुभयो ।
उहाँले संविधान र लोकतन्त्रका पक्षधर पार्टी र सरकारले जनतामा देखिएको विरोध र आक्रोशलाई नजरअन्दाज गर्न नहुने तथा दल र नेताहरूले आफैँतिर फर्किएर गम्भीर आत्म समीक्षा गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले स्ववियू निर्वाचनको नाममा माउ पार्टीहरूले विद्यार्थीलाई उक्साएर भिडाइरहेको आरोप लगाउनुभयो ।
राप्रपाका सांसद दिपक सिंहले जनताले सुशासन, न्याय र रोजगारी मागिरहेको भन्दै राजनीतिक दलका नेताहरूको अदूरदर्शिताका कारण अहिलेको परिस्थिति उत्पन्न भएको बताउनुभयो ।
बैठकमा सांसदहरु अम्मरबहादुर थापा, रेखा यादव, अब्दुल खाँन, विरेन्द्रप्रसाद महतो, सवेन्द्रनाथ शुक्ला, गंगाराम चौधरी, प्रेम सुवाल, डा.अमरेशकुमार सिंह, इश्वरीदेवी न्यौपाने, ज्वालाकुमारी शाहले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्