तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहे पनि डढेलो नियन्त्रण बाहिर रहेको हो । 

गोरखनाथ वनको डढेलो फैलँदै आज बिहान चिसापानी सामुदायिक वनसम्म पुगेको छ । उक्त गाउँपालिका ३ र ५ नं वडाको सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको जनाइएको छ । सोमबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणको प्रयास गरेपनि डढेलो फैलँदै गएको हो । आज बिहानैदेखि बेथानचोक प्रहरी चौकीको प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

सोमबार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हुर्का भन्ज्याङको मानव बस्तीलाई डढेलोबाट जोगाउन एन्टिफायरिङ गराएर फर्किएको थियो । एन्टी फायरिङ गरिए पनि बस्ती पूर्ण रूपमा सुरक्षित नरहेको गाउँपालिका वडा नं ३ का वडाध्यक्ष  कुबेर ढकालले बताउनुभयो । उहाँका अनुसार हावाहुरी व्यापक रूपमा लागि रहेकाले त्यसलाई पूर्ण नियन्त्रणमा लिन भने सकिएको छैन । स्थानीयलाई सचेत रहन र सावधानी अपनाएर बस्न आग्रह गरिएको छ । 

डढेलो लागेको ठाउँमा निकै सुक्खा र पानीको अभाव रहेकाले आगो निभाउन निकै कठिन भएको ढकालको भनाइ छ । उहाँका अनुसार करिब १ सय ९३ हेक्टर क्षेत्रफल रहेको गोरखानाथ सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको अनुमान गरिएको छ । बोल्देबाट फैलिएको डढेलो अहिले हर्कभञ्ज्याङसम्म आइपुगेको बताइएको छ । 

हावाहुरी चलेकाले डढेलो फैलिँदै थलीडाँडा, च्याल्टी, नारायणस्थानसम्म पुग्ने जोखिम देखिएको छ । वनमा डढेलो फैलिरहेकाले नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयका वन अधिकृत चिनीकाजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जङ्गलका ठूलाठूलो रूखका टुप्पोसमेत आगो लागिरहेको छ । आगलागी भएको क्षेत्र भिरालो भौगोलिक अवस्था रहेकाले डढेलो निभाउन निकै कठिनाइ भइरहेको श्रेष्ठले बताउनुभयो । 

डढेलो लागेको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने नदेखिएको तथा पशुपक्षी क्षति नभएको ढकालले बताउनुभयो । उहाँका अनुसार थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको छ भने डढेलो देब्रेतर्फ फैलिँदै गयो भने मानवबस्ती जोखिममा पर्न सक्छ । दुई दिनदेखिको डढेलोका कारण वरिपरिको क्षेत्रमा धुवाँ–तुवाँलोले वातावरण प्रदूषित भएको स्थानीय कमल नेपालले बताउनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या तथा आँखा चिलाउने समस्या हुँदै गएको छ । 

यसअघि सोही क्षेत्र महाभारत पर्वत शृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो । खानीखोलाको थामलेख डाँडाबाट सुरु भएको आगलागी बेथानचोक गाउँपालिका–५, ३, १ र २ को सीमा क्षेत्रमा समेत फैलिएपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाइएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button