तपाईँ सुन्दै हुनुहुन्छः

महिला पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

बाँके । कोहलपुरमा महिला पत्रकारहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मानव अधिकार, कानुन र पत्रकार आचार संहितासम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। संगम मल्टी मिडिया हबको आयोजनामा तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा महिला पत्रकारहरूको कानूनी अधिकार, पेशागत नैतिकता र जिम्मेवारीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका उपमेयर सङ्गीता सुवेदीले महिला पत्रकारहरूको भूमिकालाई अझ सशक्त बनाउन कानूनी ज्ञान र पेशागत तालिमको महत्त्वबारे प्रकाश पार्नुभयो। पत्रकारिता समाज परिवर्तनको संवाहक भएकाले महिला पत्रकारहरूले आफ्नो दक्षता अभिवृद्धि गर्दै सशक्त भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार आचार संहिता र मानव अधिकार कानुनबारे जानकारी गराउँदै पेशागत मर्यादा, निष्पक्षता र नैतिकतामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। महिलाहरू पत्रकारिता क्षेत्रमा क्रियाशील हुँदा विभिन्न चुनौतीहरू सामना गर्नुपर्ने भन्दै यस्ता अभिमुखीकरण कार्यक्रमहरूले उनीहरूलाई थप सक्षम बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले महिला पत्रकारहरूका लागि यस्तो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले महिलाहरूले भोग्ने पेशागत कठिनाइहरू समाधान गर्न नीति निर्माण तहमा सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै पत्रकारितामा महिला नेतृत्व बढाउन जोड दिनुभयो।

कार्यक्रममा बोल्दै संगम मिडिया हबकी संयोजक पवित्रा परियारले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न संस्थागत पहल आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button