तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट : आजका खेलमा बागमती र कर्णाली प्रदेश विजयी 

भैरहवा । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मङ्गलवार भएका दुई खेलमा बागमती र कर्णाली प्रदेश विजयी भएका छन् । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनाएको थियो । 

बागमतीका ओपनर इशान पाण्डेले सर्वाधिक ६९ रन जोडे । उनले ८२ बलमा ६ चौका प्रहार गरे । यस्तै, विपिन आचार्यले अविजित ६३, शुभ कंसकारले ५२, विवेक रानाले ३४ र रिजन ढकालले नटआउट २३ को योगदान गरे । 

गण्डकी लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिए । २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अलआउट भयो । उसका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे । यस्तै, ओपनर समिर कँडेलले २६, अमृत गुरुङले २० तथा कमल परियार र दीपक डुम्रे समान १९ रन जोड्दा सुवास भण्डारीले १८ रन बनाए । 

बागमतीका लागि प्लेयर अफ द म्याच भएका इशान पाण्डेले ४ विकेट लिए । यस्तै, साकार गजुरेलले २ तथा सूर्य तामाङ, रिजन ढकाल र गौतम केसीले समान १–१ विकेट लिए ।

यता रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि १ सय २७ रनको फराकिलो जित हासिल गर्‍यो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल बनाएको थियो । 

कर्णालीका अर्जुन घर्तीले नटआउट रहँदै सर्वाधिक ८८ रन बनाए । उनले ९५ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । हिमांशु शाहीले ४६, प्रकाश जैसी १८, सुनिल धमलाले १३ तथा निश्चल रावलले १२ रन बनाए । कोशीका विपिन महतोले ३, दिपेश कँडेल र प्रकाश कार्कीले समान २–२ तथा सुजन थपलिया र श्रवण किस्कुले १–१ विकेट लिए । 

२ सय १९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रन बनाउँदा अलआउट भयो । कोशीका ओपनर चिराग साहले सर्वाधिक २५ रन जोडे । सकिब हक १३ र कप्तान अंकित सुवेदी १० रनमा आउट भए । कोशीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

कर्णालीका सुनिल धमला र दीपेन्द्र रावतले समान ३–३, कप्तान दिवान पुनले २ तथा अनुज चुनाराले १ विकेट लिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button