तपाईँ सुन्दै हुनुहुन्छः

‘मिडियाले राजनीति गरिरहेका र जनप्रतिनिधि महिलालाई प्राथमिकता दिएन’

कैलाली । स्थानीय स्तरमा महिलाको राजनीतिक सहभागिता अभिवृद्धि गर्न जिल्ला स्तरीय मिडिया अभिमुखीकरण तालिम टीकापुरमा भएको छ । 

टीकापुर नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा भएको तालिम सहजीकरण गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले मिडियाले राजनीति गरिरहेका महिला तथा जनप्रतिनिधि महिला सदस्यलाई प्राथमिकता नदिएको बताउनुभयो । 

शर्माले मिडियाले महिला नेतृत्वका सकारात्मक पक्ष मिडियामा ल्याउनुपर्नेमा जोड दिँदै सकारात्मक कार्य र पक्षहरू मिडियामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले पदमा हरेक वडामा रहेका महिला सदस्य एक पटक नेतृत्व गरेपछि दोहोरिने वा माथिल्लो पदमा पुगेका थोरै देखिएकाले अब यसलाई सुधार गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि एकिन्द्र तिमिल्सिनाले महिलालाई पदमा पुगेपछि सिकाउनुभन्दा पदमा पुग्नुअघि काम गर्नका लागि तयार गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाले महिलाको नेतृत्व बढाउन अब महिलालाई मात्र सक्षम बनाउनेभन्दा राजनीतिक नेतृत्व र जिम्मेवारीमा रहेका पुरुषलाई तालिम दिन आवश्यक रहेको बताउनुभयो ।

टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन लुहार विकले टीकापुरमा ५० जनाको नगर सभामा १९ महिला रहेका जानकारी दिँदै पत्रकारले पनि सरकार प्रमुखलाई प्राथमिकता दिँदा महिला जनप्रतिनिधिको भूमिका र आवाज पछि परेकाले प्राथमिकता दिन आग्रह गर्नुभयो । 

तालिममा ३७ जना पत्रकारहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button