राष्ट्रिय परिचय पत्र दर्ता र नागरिकता अब सूर्योदय नगरपालिकाबाटै हुने
इलाम । नागरिकता बनाउन तथा राष्ट्रिय परिचय पत्र दर्ताको लागि जिल्ला प्रशासन कार्यालय इलाममै पुग्नुपर्ने बाध्यताबाट इलामको सूर्योदय नगरपालिकाका बासिन्दा मुक्त भएका छन् ।

राष्ट्रिय परिचयपत्रको लागि दर्ता स्टेसन सूर्योदय नगरपालिकामा स्थापना भएको छ । अबदेखि यहाँका जनताले राष्ट्रिय परिचयपत्रको दर्ता गर्न जिल्ला प्रशासन कार्यालयमा धाउन नपर्ने भएको छ ।
आइतबार सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले संयुक्त रूपमा राष्ट्रिय परिचयपत्रको दर्ता स्टेसनको उद्घाटन गर्नुभयो । यस्तै सूर्योदय नगरपालिका वडा न २ पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालयबाट नगरका १४ वटा वडाका जनताले नागरिकता पनि बनाउन पाउने भएका छन् यसको पनि आज आइतबार नै शुभारम्भ गरिएको छ ।

नगर प्रमुख राईले सूर्योदय नगरपालिकाका जनताले नागरिकता बनाउन तथा राष्ट्रिय परिचय पत्र दर्ता गराउन इलाम सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय सम्म नै पुग्नुपर्ने र यसबाट जनताको समय र खर्च दुवै बढी हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तथा मातहतका अरू निकाय सँगको लामो समन्वय तथा प्रयासमा नगरका १४ वटै वडावासीले नगरमै रहेको सीमा प्रशासन कार्यालयबाट नागरिकता पाउने व्यवस्था मिलाइएको बताउनुभयो ।
सेवालाई अझ छिटो र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सँगको समन्वयमा काम गर्ने सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्