गौतमबुद्ध जन्मस्थलमा बुद्धको अस्ति धातुसहित बृहत् धम्मयात्रा
रुपन्देही । भगवान् गौतमबुद्धको पवित्र जन्मस्थलको प्रवेशद्वार भैरहवामा बुद्धको अस्ति धातुसहित बृहत् धम्म यात्रा गरिएको छ । बुद्ध धर्म, लुम्बिनी र यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले धम्म यात्रा गरिएको हो ।

भगवान् बुद्धले ज्ञान लाभ प्राप्त गरेपछि पहिलोपटक आफ्ना पिता राजा शुद्धोधनको निमन्त्रणामा गृहनगर कपिलवस्तुको तिलौराकोट फर्कँदा प्रयोग गरेको मार्गका रुपमा हालको सिद्धार्थनगर–लुम्बिनी मार्गलाई चिनिन्छ । यही मार्गमा अवस्थित लुम्बिनी गेटको प्रबद्र्धन गरी धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले शनिबार भैरहवामा बृहत् धम्म यात्रा गरिएको बौद्ध समाज नेपालका अध्यक्ष शङ्कर गाहाले जानकारी दिनुभयो ।
बुद्धको अस्तिधातु सहितको धम्मयात्रा लुम्बिनीमा भएको पाँच सय जनाको कुलपुत्र प्रवज्या कार्यक्रम अन्तर्गत भएको हो । अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपालको व्यवस्थापनमा धम्मयात्रा गरिएको धम्म यात्रामा थाइल्याण्डको धम्काय संस्थाले समेत सहयोग गरेको थियो ।
यात्रामा प्रवजित अल्पकालीन भिक्षुहरू, भन्तेहरू, स्थानीय बासिन्दा, सङ्घसंस्था, स्थानीय सरकारका प्रतिनिधि सहभागी भए । श्रामणेरलाई लुम्बिनी गेट परिसरमा पुष्प अर्पण गरी स्वागत गरिएको थियो । करिब साढे दुई किमी धम्म यात्रामा श्रामणेरसहित ५ हजार जनाको सहभागिता रहेको आयोजकले जनाएका छन् ।
धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्मयात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो । यसले गर्दा पनि धम्मयात्राको महत्व मानिसको जीवनमा अनुसरणीय मानिन्छ । भिक्षुहरूको जीवनमा त सबैभन्दा महत्व राख्छ । यसैले होला भिक्षुहरू विभिन्न अवसरमा धम्म यात्रा गरिरहन्छन् ।
धम्मयात्रालाई निरन्तरता दिँदा पर्यटकीय दृष्टिकोणले समेत फाइदा पुग्ने विश्वास आयोजकको छ । धम्मयात्रामा विभिन्न मुलुकबाट भिक्षु–भिक्षुणी, उपासक–उपसिकाहरु सहभागी थिए । समुदाय तहसम्म बौद्ध शिक्षालाई पुर्याउन यो यात्राले थप सहयोग पुग्ने आयोजकले विश्वास गरेका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शान्ति र अहिंसाको सन्देश फैलाउन बौद्ध शिक्षालाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
गत वर्ष पहिलोपटक भैरहवामा धम्म यात्रा गरिएको थियो । यसवर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिइयो । लुम्बिनीमा भएको ५ सय जनाको प्रवज्या र भैरहवामा आयोजित श्रामणेरसहितको धम्म यात्राले बुद्ध धर्म, ज्ञान र बौद्ध गतिविधिलाई थप उचाइमा पुर्याएको विश्वास गरिएको छ । यसले बुद्ध जन्मस्थलको प्रचार प्रसारसँगै पर्यटन प्रवर्द्धनमा समेत वृद्धि हुने आयोजकको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्