तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मी क्लबको लगातार चौथो जीत

रुपन्देही । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जीत निकालेको छ । 

आर्मीले शनिवार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो । 

२ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जीतमा ओपनर तृतराज दासले नटआउट रहँदै सर्वाधिक १ सय १२ रन जोडे । यस्तै, बसिर अहम्मदले अविजित ६१ र विनोद भण्डारी २७ रन बनाए । कोशीका लागि प्रकाश कार्की, सन्दीप ढुगांना र भुपाल लुइँटेलले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कोशीले ४९.३ ओभरमा २ सय ३० रन बनाएको थियो । 

कोशीका लागि सुभान गहतराजले सर्वाधिक ५१ रन जोडे । यस्तै, सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन जोडे । आर्मीका लागि सोमपाल कामीले ४, शाहब आलम र आकाश चन्दले समान २–२ तथा कुशल मल्लले १ विकेट लिए । आर्मी खेलेका ४ खेलमा अपराजित रहँदै ८ अङ्कमा रहेको छ । खेलेका सबै चारै खेलमा पराजित कोशी अङ्कतालिकाको पुछारमा छ ।

यस्तै, शनिवारै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबले आफ्नो जीतको यात्रालाई निरन्तरता दियो । लगातार चौथो जीत निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशलाई १ सय ९३ रनले हरायो । टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रन बनाएको थियो । 

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६३, आरिफ शेखले ५५, अर्जुन साउदले ४७, दीलिप नाथले ४५ र शङ्कर रानाले २७ रन बनाए । मधेशका रुपेश सिंहले ४, विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए । २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६।१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो । मधेशका लागि दिपेश दासले सर्वाधिक ३१ र रुपेश सिंहले १६ रन बनाए । पुलिसका लागि ललितनारायण राजवंशीले ९.१ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । 

कुशल भुर्तेलले २ तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए । जीतसँगै पुलिस अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ । पराजित मधेसको ३ खेलमा २ अङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button