तपाईँ सुन्दै हुनुहुन्छः

‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’

काठमाडौँ ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।  

आफ्नो सम्मानमा लन्डनस्थित नेपाली दूतावासले शुक्रवार साँझ आयोजना गरेको स्वागत समारोहमा उहाँले जलवायु परिवर्तनको असर देशको कृषि, पर्यटन र दैनिक जीवनमा परिरहेकाले त्यसलाई घटाउन बेलायतजस्ता नेपालको विकासका साझेदारहरूको  सहयोग आवश्यक भएको बताउनुभयो । 

जलवायु परिवर्तनका असर घटाउने तथा जैविक विविधता संरक्षण नेपालको मात्र नभई अन्तर्राष्ट्रिय समुदायको चासोको विषय भएको बताउँदै मन्त्री ठकुरीले नेपाल र बेलायतबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउनुपर्नेमा जोड दिनुभएको थियो । 

मन्त्री ठकुरीको निजी सचिवालयका अनुसार गोर्खा सैन्यका कारण नेपाल–बेलायत सम्बन्ध अझ उन्नत रहेको चर्चा गर्दै उहाँले दूतावासका कर्मचारी तथा कूटनीतिक नेतृत्वलाई मातृभूमिको चौतर्फी विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गर्नुभयो । 

हालै जारी भएको अध्यादेशले विदेशी लगानी प्रोत्साहन गरेको र अन्य ऐन कानुन पनि लगानीमैत्री भएकाले मातृभूमिको औद्योगिक विकासका खातिर पुँजी जुटाउने दिशामा सक्रियताका साथ काम गर्न मन्त्री ठकुरीले सुझाउनुभयो । 

नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायत र नेपालबीचको दुई शताब्दीभन्दा पुरानो कूटनीतिक सम्बन्धको चर्चा गर्दै द्विपक्षीय हित, साझा चासो र आपसी लाभ प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button