तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा विपन्न चिडिमार र खटिक समुदायका लागि पक्की घर बन्ने

बाँके । बाँकेको कोहलपुर नगरपालिका-१४, हवल्दारपुरमा रहेका अति विपन्न चिडिमार र खटिक समुदायका आठ परिवारका लागि छिमेक सेवा समाजले पक्की घर बनाउन सुरु गरेको छ। कोहलपुर नगरपालिकाको समन्वयमा सुरु भएको यो निर्माण कार्यले वर्षौंदेखि छाप्रोमा कष्टपूर्ण जीवन बिताइरहेका उनीहरूलाई राहत दिनेछ।

नमूना बस्ती निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणमा आठवटा घर निर्माण सुरु गरिएको हो। कोहलपुर नगरपालिकाका वडा अध्यक्ष नमबहादुर आलेमगर र समाजका लोकबहादुर कार्कीले मोलहे खटिकको घरको शिलान्यास गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन्।

वडा अध्यक्ष आलेमगरले स्थानीय सरकारले विपन्न र पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले हवल्दारपुर यसको उदाहरण भएको उल्लेख गरे। उनले चिडिमार र खटिक समुदायसँगै अन्य अति विपन्नहरूको घर पनि बनाइने जानकारी दिए।

समाजका लोकबहादुर कार्कीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको बताए। समाजले दुई कोठाको पक्की घर बनाइदिनेछ, जसको प्रतिघर निर्माण लागत पाँच लाख रुपैयाँ रहेको छ। नमूना बस्ती निर्माणका लागि करिब ८५ लाख रुपैयाँ लगानी गरिने उनले जानकारी दिए।

पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओमप्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायतको घर निर्माण गरिनेछ। हवल्दारपुरमा करिब २५/३० घरपरिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button