तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप क्रिकेट : विभागीय टिम आर्मी र पुलिसको फराकिलो जित

रुपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको दुई वटा खेल मध्ये दुबैमा विभागीय टिमले जित निकालेको छ । 

जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ ।  

आज भैरहवामा सुदूरपश्चिमलाई आर्मीले ८ विकेटको फराकिलो अन्तरले हराएको छ । ११८ रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको आर्मीले आफ्ना २ ब्याट्सम्यान तीर्थराज दास (३१ रन)र भीम सार्की(१ रन) लाई गुमाउँदै १५७ बल बाँकी छदै जित निकालेको हो । 

आर्मीका लागि सन्तोष कार्कीले ६३ बलको सामना गर्दै १० वटा चौकाको सहयोगमा अविजित ५५ रन बनाए । यस्तै कप्तान बिनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । सुदूरपश्चिमका लागि मिलन बोहरा र शेर मल्लले १र१ विकेट लिए । 

यसअघि भैरहवास्थित सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले त्रिभुवन आर्मी क्लबलाई ११८ को लक्ष्य दिएको थियो । 

सुदूरपश्चिमले ४३.३ ओभर खेल्दै सबै विकेटको क्षतिमा ११७ रन बनाएको थियो । ओपनर अर्जुन बिकलाइ सुरुमै गुमाए पछि दबाबमा रहेको सुदूरपश्चिम त्यसपछि खुलेर खेल्न सकेन । पहिलो विकेट शून्य रनमै गुमाएको सुदूरपश्चिमले दोस्रो विकेट १३ रनमा र तेस्रो विकेट १८ रनमा गुमाएको थियो । किरण ठगुन्ना ३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्केपछि सुदूरको यात्रा ११७ रनमै रोकिएको थियो । 

सुदूरपश्चिमकाका लागि निश्चल क्षेत्रीले १२१ बलको सामना गर्दै सर्वाधिक ४९ रन प्रहार गरे । यसैगरी सुनिल चन्दले १६ रन र नारायण जोशीले १६ रन प्रहार गरे । 

बलिङमा आर्मीका साहब आलमले ४, सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद र बसिर अहमदले समान १÷१ विकेट लिए ।  ४ विकेट लिएका त्रिभुवन आर्मी क्लबका साहब आलम म्यान अफ द म्याच घोषित भए ।

यसैगरी कोशी प्रदेशले लगातार तेस्रो पराजय व्यहोरेको छ । बुधबार कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच भएको खेलमा कोशी १५४ रन अन्तरले पराजित भएको छ । कोशी प्रदेश यसअघि पनि मधेश प्रदेश र लुम्बिनी प्रदेशसँग पराजित भएको थियो ।

रुपन्देहीको एक्स्ट्राटेक ओकल क्रिकेट रङ्गशालामा पुलिसबाट पाएको २८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कोशीको पुरै टिम ३६.२ ओभरमा १३४ रन बनाउदै अलआउट भएको थियो । कोशीका लागि सुजन थपलियाले ३३ रन बनाए । उनले ५२ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरे । यसैगरी अंकित सुवेदीले २१, साकिब हकले १७ रन र फिर्दोश अन्सारीले १० रन बनाए । 

बलिङमा नेपाल पुलिस क्लबका करण केसीले ३, ललित राजवंशी र कुशल भुर्तेले समान २र२ तथा सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले समान १÷१ विकेट लिए । 

यसअघि रूपन्देहीको एक्स्ट्राटेक ओकल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८८ रन बनाएको थियो । पुलिसका  लागि ओपनर कुशल भुर्तेलले ७८ बलको सामना गर्दै २ छक्का र २ चौकाको सहयोगमा ६५ रन बनाए । अर्का ओपनर अर्जुन साउदले ३८ रन बनाए । यसैगरी दिपेन्द्र सिंह ऐरीले ३२ रन, गुलशन झा २१ रन र दिलिपनाथले ६१ रन बनाए । 

बलिङमा कोशीका भुपाल लुइँटेलले ३ विकेट, प्रकाश कार्कीले २ विकेट, दिपेश कँडेल श्रवण किस्कु र फिर्दोश अन्सारीले समान १÷१ विकेट लिए । ३ खेल खेलेको कोशी प्रदेश तीन वटैमा पराजित हुँदै शून्य अङ्कसहित अङ्क तालिकाको पुछारमा रहेको छ । 

बिहीबार एक्स्ट्राटेक ओकल क्रिकेट रङ्गशालामा  मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच तथा भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button